
आलोक भावुक
गढवा, २४ माघ ।
दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ स्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा गढवा गाउँपालिका स्तरीय अन्तरविद्यालय मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता आज सनिवार देखि औपचारिक रूपमा सुरु भएको हो।
भलिबल प्रतियोगितामा गढवा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी कुल ९ वटा विद्यालयका टिमहरू सहभागी भएका छन्। पहिलो खेलमा सरस्वती माध्यमिक विद्यालय विद्यानगर, गोबरडिहा र बाल संसार एकेडेमी गढवा बीच रोचक प्रतिस्पर्धा भए पनि सरस्वती मावि विद्यानगरले सहज जित हात पारेको थियो।
त्यसैगरी आगामी खेलहरूमा राप्ती साउथर्न इङ्लिस बोर्डिङ स्कुल र नेपाल इङ्लिस बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेल डिवेल इङ्लिस बोर्डिङ स्कुल र भ्याली पब्लिक स्कुलबीच हुनेछ। त्यसपछि मावि चयनपुर र मुना मिलन इङ्लिस बोर्डिङ स्कुलबीच खेल हुने विद्यालयका शेयर सदस्य तथा लेखा समिति संयोजक ऋषिराम यादवले जानकारी दिनुभयो।
खेलमा रेफ्रीको भूमिकामा बुद्धी प्रकाश चौधरी रहनु भएको थियो भने स्कोरको जिम्मेवारी बिक्रम गुरुङले सम्हाल्नु भएको थियो। विद्यालयले माघ २९ गते २४औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरिरहेको जानकारी दिएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम ज्ञानज्योति माध्यमिक विद्यालय गढवाका सञ्चालक समिति अध्यक्ष सन्तोष कौशलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष तथा हालका सल्लाहकार रम्भुनाथ चौधरी, विद्यालयका प्रिन्सिपल दीपक कुमार यादव, सञ्चालक समिति कोषाध्यक्ष एवं लेखा संयोजक ऋषि राम यादव, सदस्य हरि भण्डारी, शिक्षक–शिक्षिका, शेयर सदस्य, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–शिक्षिका, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम विद्यालयका प्रिन्सिपल दीपक कुमार यादवको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका यति चौधरीले गर्नु भएको थियो।



लाइभदाङ । २५ माघ २०८२, शनिबार १८:१५ बजे