
दाङ, २६ फागुन । नेपाली कम्युनिष्ट पार्टी निकट वाईसिएलले सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीय इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
अध्यक्ष पुष्प वलीले विहीबार विज्ञप्ति जारी गरि पछिल्लो समय यस्ता घटनाहरू दिनानुदिन बढ्दै जानु अत्यन्त दुःखद, गम्भीर तथा चिन्ताको विषय रहेको समेत बताए। उनले उक्त घटनाको निष्पक्ष र गहिरो छानबिन गरी संलग्न जो–कोहीलाई पनि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
उनले कुनै प्रकारको दबाब, प्रभाव वा पक्षपात बिना निष्पक्ष रूपमा अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरी प्रशासनसमक्ष आग्रह समेत गरेका छन् ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी इनिसा विक वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।
उनी कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिइन्। स्थानीयवासी र परिवारजनका अनुसार उनीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गरिएको छ, जसलाई पुष्टि गर्ने खालका विभिन्न प्रमाणहरू समेत भेटिएको बताइएको छ।
उक्त घटनाको निष्पक्ष छानबिनका लागि वाईसिएलले पूर्ण सहयोग गर्ने समेत अध्यक्ष वलीले बताए ।




लाइभदाङ । २८ फाल्गुन २०८२, बिहीबार २३:५० बजे