
दाङ,२७ फागुन ।
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दाको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले प्रारम्भिक सुनुवाइपछि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए। सो इजलासले आइतबारदेखि मुद्दाको नियमित सुनुवाइ गर्न भनेको छ।
रवि लामिछानेविरुद्ध संगठित अवपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग संशोधन गर्ने निर्णय दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालयले गरेको थियो। जसअनुसार विभिन्न जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोग संशोधनका लागि अदालतमा निवेदन दिइसकेको छ। तर, सर्वोच्चबाट सुनुवाइ नहुँदा रोकिँदै आएको छ।
अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयउपर अधिवक्ताहरूले दिएको रिटमा अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो।
कुनै सहकारीमा संलग्न नरहेको भनेर संसदीय समितिले प्रतिवेदन दिए पनि आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगीको मुद्दा चलाइएको आरोप रविले लगाउँदै आएका छन्।



लाइभदाङ । २७ फाल्गुन २०८२, बुधबार १५:४६ बजे