अन्तिम चरणमा बबई लिफ्टिङः डिजाइन अनुसार आएन डिपबोरिङमा पानी

तुलसीपुर,१८ चैत ।
दाङको तुलसीपुर स्थित बबई लिफ्टिङ खानेपानी अन्तर्गत ६ वटा डिपबोरिङ निर्माण गर्ने गरि ‘स्टिमेट’ तयार गरिएको थियो । स्टिमेट अनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, हालको यातायात कार्यालय नजिक, इन्द्रनगर र साबिक अञ्चल प्रहरी कार्यालय गरि बिभिन्न ६ स्थानमा डिपबोरिङ पनि निर्माण गर्नुपर्ने थियो । तर, त्यो स्टिमेट अनुसार पानी आएन ।

एउटा बोरिङबाट १० लिटर प्रतिसेकेन्ड पानी आउनु पर्नेमा २ लिटर प्रति सेकेन्ड पानी नआएपछि ति स्थानका डिपबोरिङ अन्यत्र सारिएको छ । पढ्ढामा तीन वटा र बबई नदीको किनारामा दुई वटा डिप बोरिङ स्थानान्तरण गरिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाले बताए । “हामीलाई १० लिटर प्रतिसेकेन्ड भन्दा पानी चाहिने हो”,उनले भने“तर, डिजाइन अनुसारका बोरिङमा २ लिटरप्रतिसेकेन्डसम्म पनि नआउने भयो, त्यसैले हामीले पढ्ढा र बबइ नदीमा डिप बोरिङ खन्यौं ।”अबको केही समयमा त्यहाँको पानी तुलसीपुर ल्याउन तयारी छ । बबईमा डिपबोरिङ खनेसंगै डिजाइन परिबर्तन गरि पम्पिङबाट पानी ल्याउनु पर्ने छ । त्यसकालागि अहिले पम्पिङ खरिद गरेर ल्याउँदा करिब ३÷४ महिना लाग्न सक्ने उनले बताए । त्यहाँबाट ९० लिटर प्रति सेकेन्ड भन्दा बढि पानी ल्याउने तयारी छ । ३ वटा सम्वेलनसहितबाट बबईको पानी तुलसीपुर ल्याईने छ । अन्य संरचना तयार भइसकेका छन् । पढ्ढामा निर्माण भएका तीन वटा बोरिङबाट भने नयाँ वर्ष भित्रै पानी ल्याउने तयारी रहेको आयोजनाका प्रोजेक्ट म्यानेजर हरेन्द्र भट्टले बताए । जहाँबाट २४ लिटर प्रतिसेकेन्ड पानी ल्याउने तयारी छ । त्यहाँबाट ल्याएको पानी डुम्रीगाउँको ट्याङ्कीबाट वितरण गरिनेछ ।

खानेपानीका पाइप विस्तारको काम पनि लगभग अन्तिम चरणमा छ । रक्षाचौर क्षेत्रमा स्थानीयले विवाद गरेकाले मात्रै त्यहाँ विस्तार हुन सकेको छैन । त्यो बाहेक सबै क्षेत्रमा विस्तार भइसकेको छ । पानी सुद्धिकरणकालागि बबईमा ¥यापिड स्यान्ड फिल्टर, डिप बोरिङ भएका स्थानमा मल्टि ग्रेड प्रेसर फिल्टर निर्माण भएका छन् । सीतलपुरमा आरभिटी कलेक्सन चेम्बर ५०० घन मिटर, इन्टर मिडियट आरभिटी टकी संतनिरङकारी नेर ३०० घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि ३०० घन मिटर बन्ने, झुमरेमा ५०० घनमिटर र डुम्रीगाउँमा ६ सय घनमेटिरका ट्याङ्की बनेका छन् । त्यस्तै शिखर कोलेनीमा ४५० घनमिटर, मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड टंकी पनि निर्माण भएका छन् ।

त्यस्तै डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड टंकी निर्माण भएका छन् ।प्रशारण पाईप लाईन २८.३१५ किलोमिटर हुनेछ, भने पानी वितरण पाईप १२५.७५२ किलोमिटर रहेको छ ।


त्यस्तै ७ वटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण भएका छन् ।एक बर्ष अघि सक्नु पर्ने उक्त आयोजनाको काम पूरा नभएपछि पुनः २०८३ असारसम्म म्याद थप गरि काम अगाडी बढाईएको थियो ।तुलसीपुर खानेपानीका अहिलेसम्म १० हजार बढि धाराहरु रहेका छन् । अहिले खानेपानीको हाहाकार हुनेगर्छ । पानी पु¥याउनै समस्या हुने गर्छ । त्यसले गर्दा बबईको पानी आएमा त्यो समस्या हल हुने संस्थाका कोषाध्यक्ष थापाले बताए । हाल तुलसीपुर खानेपानीका मुलकोट, राम्री,चिसापानी, धैरनी,बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरि ८ वटा ग्राभेटी मुहान छन् ।

त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् । ५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैँया लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।

जसमा सरकारले ३८ करोड ८३ लाख, १७ हजार २ सय ४१ र उपभोक्ताको १७ करोड ७ लाख ३ सय ८८ रुपैँया लाग्छ । अहिले उपभोक्ताको तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाईएको छ । नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार १ सय ५८ ऋण लिएको र बाँकी २ करोड ८४ लाख ५१ हजार २ सय ३१ रुपैँया उपभोक्ताले तिरेका छन् ।