दाङ १ः मेटमणी, कुलप्रसाद र रेवतिरमणसहित १२ उम्मेदवारको जमानत जफत

दाङ, २५ फागुन ।
दाङ क्षेत्र नं.१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी, एमालेका उम्मेदवार रेवतीरमण शर्मा, स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ । चौधरी यस अघि दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएका ब्यक्ती हुन् । तर, उनले यस पटक आफ्नो जमानत समेत जोगाउन सकेनन् ।

जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनु पर्छ । दाङ १ मा जम्मा सदरमत ७६ हजार तीनसय ८९ रहेको छ । जसको १० प्रतिशत ७ हजार ६ सय ३९ हुन्छ । तर,मेटमणीले ४ हजार नौसय ६५ मत मात्रै ल्याएका छन् ।

त्यस्तै एमालेबाट दाङ १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेवतीरमण शर्माको पनि जमानत जफत भएको छ । शर्माले ६ हजार ८ सय २५ मात्रै मत प्राप्त गरेका छन् । उनी पूर्व लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् ।


त्यस्तै स्वतन्त्र उम्मेदवार बनेका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीको पनि जमानत जफत भएको छ । केसीले एक हजार तीन सय ८४ मात्रै मत ल्याएका थिए ।

केसीसहित सोही निर्वाचन क्षेत्रका १२ जनाको जमानत जफत भएको छ । सोही निर्वाचन क्षेत्रबाट रास्वपाका देवराज पाठक विजयी भएका थिए, भने प्रतिस्पर्धी काँग्रेसका योगेन्द्र चौधरी थिए । उनीहरु दुई जना बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानत वाफत १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ ।