
प्रिया स्मृती गजमेर
देउखुरी,१२ वैशाख ।
लामो समयदेखि आँखा स्वास्थ्य सेवा तथा उपचार प्रदान गर्दै आएको लमही ५ रातोडाँडास्थित लमही आँखा अस्पतालले सेवा विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा अहिले दाङ देउखुरी, प्युठान, रोल्पा, घोराही, तुल्सीपुर तथा भारत–नेपाल सीमावर्ती क्षेत्रबाट समेत बिरामीहरू आउने गरेका छन् ।
यसैबीच लमही नगरपालिकामै पहिलो पटक चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त गरी दुई जना चिकित्सकले आँखा विषयमा उच्च शिक्षा अध्ययन सुरु गरेका छन् । यो पहलसँगै लमही आँखा अस्पतालले स्वास्थ्य सेवासँगै शैक्षिक क्षेत्रमै पनि नयाँ फड्को मारेको छ ।
उक्त अवसरमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख नेत्र विशेषज्ञ प्रा। डा। प्रदीप बास्तोलाको विशेष पहलमा उच्च शिक्षा अध्ययन–अध्यापन सुरु भएको जनाइएको छ । हाल उहाँ लमही आँखा अस्पतालमै कार्यरत हुनुहुन्छ ।
वैशाख ११ गते आयोजित स्वागत कार्यक्रममा पूर्व मंत्री मेटमणि चौधरीले अध्ययनका लागि आएका चिकित्सकहरूको स्वागत गर्नु भएको थियो । यस ऐतिहासिक सुरुवातका लागि लमही आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ दाङ शाखा तथा सम्बद्ध सबै पक्षलाई बधाई दिइएको छ ।



लाइभदाङ । १२ बैशाख २०८३, शनिबार १६:४६ बजे