लमही नगरपालिका र निजी संस्थाबीच घनिभूत छलफल, समन्वयमा अघि बढ्ने प्रतिबद्धता

प्रिया स्मृती गजमेर
देउखुरी,१६ फागुन ।
लमही नगर निर्माण महाअभियानअन्तर्गत लमही नगरपालिका ले लमही क्षेत्रमा सञ्चालनमा रहेका निजी पोलिक्लिनिक, क्लिनिक तथा निजी शैक्षिक संस्थाका प्रतिनिधिसँग घनिभूत छलफल कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्देश्य निजी संस्थाहरूलाई वैधानिक रूपमा सञ्चालन गर्न प्रोत्साहन गर्नुका साथै उनीहरूलाई राजस्वको दायरामा समेट्ने र स्थानीय सरकार तथा निजी क्षेत्रबीच आपसी सम्बन्ध सुदृढ बनाउने रहेको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिनुभयो ।

नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले निजी संस्थाहरूले राजस्वमार्फत नगरपालिकाको आर्थिक सुदृढीकरणमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । “दुवै पक्षबीच सहकार्य भए पारस्परिक लाभ सुनिश्चित हुन्छ,” उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले निजी शैक्षिक संस्था, क्लिनिक, पोलिक्लिनिक, तालिम केन्द्र तथा ट्युसन कक्षा सञ्चालनका सकारात्मक पक्षसँगै सम्भावित चुनौतीबारे धारणा राख्दै नगरपालिकाले छोटो अवधिमै अपेक्षाभन्दा बढी उपलब्धि हासिल गरेको बताउनुभयो ।

उहाँका अनुसार जनताका स– साना अपेक्षा सम्बोधन गर्ने कामहरू सम्पन्न भएका छन भने युवापुस्ताले बारम्बार माग गर्दै आएको खेलकुद प्रतियोगिता समेत चाँडै सञ्चालन हुने तयारीमा छ । साथै लौटिया सोता सरसफाइ अभियान, राजस्व संकलनका लागि शिविर र टोल विकास संस्थालाई सक्रिय बनाउने कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको उनले उल्लेख गरे।

नगरवासीका समस्याप्रति नगरपालिका संवेदनशील रहेको उल्लेख गर्दै अधिकृत डाँगीले तत्काल सम्बोधन गर्न सकिने तर पालिकाको ध्यान नपुगेका विषय भए जानकारी गराउन आग्रह गरे । जनसहभागितामार्फत नगरको समग्र विकासलाई गति दिन सकिने उनको भनाइ थियो ।


छलफलमा सहभागी निजी संस्थाका सञ्चालक तथा प्रतिनिधिहरूले आ–आफ्ना जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए । लमहीस्थित विपी मेडिकलका सञ्चालक एवम् नेपाल औषधि व्यवसायी संघ दाङ का अध्यक्ष विष्णु प्रसाद पौडेलले स्थानीय सरकारले निजी स्वास्थ्य संस्थाहरूसँग निरन्तर समन्वय गर्नुपर्नेमा जोड दिए । बजार अनुगमन र नियमनमा समेत सहकार्य गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।

त्यसैगरी भिक्टोरिया ट्युसन सेन्टर लमहीका प्रतिनिधि बृजलाल यादवले लोक सेवा आयोगसम्बन्धी पुस्तकमा छुट नदिएको विषयमा विद्यार्थीबाट गुनासो आएको उल्लेख गर्दै नगरपालिकाले सहजीकरण गरिदिन आग्रह गरे । राप्ती डेन्टलका बाबुराम खनालले निजी विद्यालयहरूले लिने चर्को शुल्क नियन्त्रणका लागि पालिकाले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखे ।

देउपुर मेडिकल हलका सञ्चालक रूप नारायण चौधरीले घरबहाल करको विषयमा स्पष्टता आवश्यक रहेको बताउँदै कर घरधनी वा भाडावालामध्ये कसबाट असुल गरिने हो स्पष्ट भए सहज हुने बताए । साथै रेबिजविरुद्धको खोपको पहुँच जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।

पाण्डे मेडिकल लमहीका सञ्चालक मधुसूदन पाण्डेले म्याद सकिएका औषधिको व्यवस्थापनमा क्लिनिक सञ्चालकहरू सचेत हुनुपर्ने औंल्याउँदै यस्ता औषधि बिरामीसम्म पुग्दा गम्भीर समस्या उत्पन्न हुन सक्ने चेतावनी दिए ।

लमही सामुदायिक डायलाइसिस सेन्टरका व्यवस्थापक सुशील पाण्डेले डायलाइसिस गराउनुपर्ने बिरामीको संख्या बढ्दो क्रममा रहेको जानकारी दिँदै आवश्यक बेड व्यवस्थापन गर्न सके सेवाग्राहीलाई ठूलो राहत हुने बताउनुभयो । कार्यक्रममा निजी शैक्षिक संस्था, क्लिनिक, पोलिक्लिनिक, तालिम केन्द्र तथा ट्युसन सेन्टरका प्रतिनिधिहरूले राजस्व, कर तथा दर्ता नवीकरण प्रक्रियाबारे जानकारी लिएका थिए ।

सहजीकरण गर्दै स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले सहभागीबाट उठेका प्रश्नहरूको जवाफ दिएका थिए । राजस्वसम्बन्धी विषयमा राजस्व शाखा प्रमुख अम्बिका शर्माले स्पष्ट पारेका थिए भने निजी विद्यालयको शुल्कसम्बन्धी जिज्ञासामा शिक्षा अधिकृत केशव लम्सालले प्रतिक्रिया दिएका थिए । कार्यक्रमले स्थानीय सरकार र निजी क्षेत्रबीच समन्वय, सहकार्य र पारदर्शितामार्फत नगर विकासलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ ।