लमहीमा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज विरुद्ध खोप शिविर सुरु

प्रिया स्मृती गजमेर
देउखुरी, १६ फागुन ।
दाङ –लमही नगरपालिकाको आयोजनामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेविज विरुद्ध निःशुल्क खोप शिविर शुक्रबारदेखि लमहीमा सुरु भएको छ । नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरहरूको वैज्ञानिक व्यवस्थापन गर्दै रेविजजस्ता प्राणघातक रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन करिब ७० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको पशु शाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिनु भयो ।

शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी योगीले सामुदायिक कुकुरहरूको दीर्घकालीन र वैज्ञानिक व्यवस्थापन आजको आवश्यकता रहेको बताउँदै जनस्वास्थ्य सुरक्षाका लागि यस्ता अभियान प्रभावकारी हुने उल्लेख गर्नुभयो । उहाँले नगरवासी, सरोकारवाला निकाय तथा अभियन्ताहरूलाई समन्वय र सहयोगका लागि आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरपालिकाले जनस्वास्थ्य र पशु कल्याणलाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको बताउनुभयो । उहाँका अनुसार किसानहरूको मागलाई मध्यनजर गर्दै कृत्रिम गर्भाधान कार्यक्रमसमेत सञ्चालन गरिनेछ । “लमही नगर निर्माण महाअभियान” नारालाई सार्थक बनाउन सरसफाई र व्यवस्थित पशु व्यवस्थापनमा विशेष जोड दिइएको उहाँले स्पष्ट पार्नुभयो ।


पत्रकार दशरथ घिमिरेले सचेतनामूलक कार्यक्रममार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह भई व्यवहार परिवर्तनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै डा। सन्दीप भट्टराईले रेविज रोगको जोखिम, लक्षण तथा रोकथामका उपायबारे जानकारी गराउँदै नियमित खोप र बन्ध्याकरण अभियानले दीर्घकालीन रूपमा समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

कार्यक्रमको सञ्चालन पशु शाखा अधिकृत शिवराज न्यौपानेले गर्नुभएको थियो । शिविर अवधिभर सामुदायिक कुकुरहरूको निःशुल्क बन्ध्याकरण तथा रेविज विरुद्ध खोप सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्थाले बन्ध्याकरण शिविरमा प्राविधिक सहयोग गरिरहेको छ ।