दाङमा झण्डा जलाएको आरोपमा थप दुई पक्राउ

दाङ, ९ फागुन ।
दाङको तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं.४ हलवार निवासी ३० बर्षीय रमेश राणा मगर र तुलसीपुर ६ गाइडहर निवासी २४ बर्षीय विक्रम परियारलाई पक्राउ गरिएको हो । उनीहरु फरार थिए ।
यस अघि शुक्रबार मात्रै तुलसीपुर ७ कालाखोला निवासी ५५ बर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो । प्रहरीले झण्डा जलाउनेमा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । अन्य सम्भावित ब्यक्तीहरुको समेत खोजी भइरहेको प्रहरीको भनाई छ ।

दाङको घोराहीमा हुने कार्यक्रममा सहभागि हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन शाह आउने भन्ने खबर पाएपछि दाङ तुलसीपुरको विरेन्द्र चोकमा भेला भएका समर्थकहरुले झण्डा जलाएको भन्दै एमाले शुक्रबार दाङको घोराही, तुलसीपुर, लमहीलगायतका स्थानमा विरोध कार्यक्रम समेत गरेको थियो ।