
दाङ, ८ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)को झण्डा जलाउने घटनामा संलग्न नरहेको स्पष्ट पारेको छ।
शुक्रबार रास्वपा दाङका सभापति विनय घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै एमालेको झण्डा जलाइएको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाए। उनले रास्वपाका कुनै पनि कार्यकर्ता उक्त गतिविधिमा संलग्न नभएको दाबी गरे।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका केन्द्रीय सभापतिज्यू सुर्खेतको कार्यक्रम समापन गरी दाङ आउने क्रममा सडक पेटीमा स्वतःस्फूर्त रूपमा स्वागतमा जुटेका शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिलाई देखी अत्तालिएका केही घुसपैठ र अवाञ्छित तत्वहरूले भ्रमपूर्ण वातावरण सिर्जना गरेका हुन् भन्ने हाम्रो स्पष्ट ठहर छ।’
रास्वपाले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। सभापति घिमिरेले पार्टी विधिको शासन र कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि बताएका छन्।



लाइभदाङ । ८ फाल्गुन २०८२, शुक्रबार १९:०७ बजे