सहमति भएमा निर्वाचन सर्न सक्छ :सहमहामन्त्री राठौर

दाङ
१३ माघ / नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सहमति भएमा निर्वाचन सर्न सक्ने बताएका छन् । प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दलिय सहमति भएमा निर्वाचन बैशाख भन्दा पछि सर्न सक्ने बताए ।

यदि सहमति नभएको खण्डमा भने संविधान अनुसार नै निर्वाचन हुने बताएका छन् । ‘सहमति भएमा निर्वाचन सर्न सक्छ’,उनले भने‘यदि सहमति भएन भने त संविधान बमोजिम निर्वाचन गर्नैपर्छ ।’

साथै उनले तीनै तहको निर्वाचन एकैपटक हुँदा राज्यलाई फाईदा हुने समेत बताएका छन् । ‘तिनै तहको निर्वाचन एकै पटक गर्दा सस्तो पनि हुन्छ’,उनले भने‘राज्यलाई पनि सुविधा हुन्छ ।’


साथै उनले गठबन्धनका सन्दर्भमा भने पार्टीको केन्द्रीय समितिमा छलफल पछि मात्रै आधिकारिक धारणा आउने बताए ।‘अहिले गठबन्धनमै रहेर चुनाबमा जाने कि एक्ला–एक्लै जाने भन्ने कुरा पार्टी भित्र पनि फरक–फरक धारणा आएका छन्’,उनले भने‘ त्यसैले यो विषयमा हामीले पार्टी भित्र बृहत छलफल गर्छौं, अनि मात्रै के गर्ने भन्ने कुरा निक्र्यौल गर्छौं ।’

महाधिवेशन पाछि काँग्रेस पनि एक भएर जाने समेत उनले बताए । १४ औं महाधिवेशनमा शेखर कोइरालाले पनि पार्टी एकता बद्ध बनाउने सन्दर्भमा आफ्नो समर्थन रहने र भाग पनि नखोज्ने प्रतिबद्धता जनाएको भन्दै पार्टी एकजुट भएर जाने उनको भनाई थियो ।