राप्ती गाउँपालिकामा स्थानीय जलवायु अनुकूलित जीवनयापन प्रवर्द्धन कार्यक्रम सम्पन्न

मसुरिया, २६ माघ ।
दाङको राप्ती गाउँपालिकामा स्थानीय जलवायु अनुकूलित जीवनयापन प्रवर्द्धन कार्यक्रम सोमबार सम्पन्न भएको छ।

वन तथा वातावरण मन्त्रालय तथा संयुक्त राष्ट्र संघीय पुँजी विकास कोषको साझेदारीमा सञ्चालन हुन लागेको स्थानीय जलवायु अनुकूल जीवनयापन प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थानीय तहमा जलवायु परिवर्तनसम्बन्धी योजना निर्माण तथा कार्यान्वयन प्रक्रियालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा संयुक्त राष्ट्र संघीय पुँजी विकास कोषका प्रतिनिधि अनु अधिकारीले परियोजनाको उद्देश्य, कार्यविधि तथा अपेक्षित उपलब्धिका बारेमा जानकारी गराउँदै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न स्थानीय तहको नेतृत्व र सहभागिता अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले समुदायस्तरमै जलवायु अनुकूल कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न परियोजनाले प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्ने जानकारी दिनुभयो।

सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जलवायु परिवर्तनको प्रत्यक्ष असर स्थानीय समुदायमा परिरहेको उल्लेख गर्दै कृषि, वन, पानी स्रोत संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा जलवायु अनुकूल कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनुभयो।


उहाँले प्राप्त सहयोगले स्थानीय स्तरमा दिगो विकास, जीविकोपार्जन सुधार तथा वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

लुम्बिनी प्रदेशमा राप्ती गाउँपालिका सहित दाङकै गढवा र राजपुर गाउँपालिका, प्यूठानको सरुमारानी गाउँपालिका तथा कपिलवस्तुको बिजयनगर गाउँपालिका गरी पाँच वटा गाउँपालिका छनोटमा परेर परियोजना सुरु गर्न लागिएको जनाइएको छ।