
दिपक बाहरा
दाङ, २१ माघ ।
दाङ क्षेत्र नं.३ चौपक्षीय प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रका रुपमा हेरिएको छ । खासगरि पश्चिम दाङ कुनै बेला काँग्रेसको बलियो क्षेत्र हो । काँग्रेस भित्रको अन्तरविरोधले एमाले पछि–पछि आयो । २०७९ को समानुपातिक मत हेर्दा काँग्रेस र एमाले थोरै मतले मात्रै तलमाथि छ । काँग्रेसले २६ हजार पाँचस ७७ मत ल्याएको छ, भने एमालेले २६ हजार एकसय १७ मत ल्याएको छ । सोही निर्वाचन क्षेत्रमा रास्वपाले १४ हजार चारसय १० समानुपातिक मत ल्याउँदा तत्कालिन माओवादी केन्द्रको १० हजार ९ सय २५ र एकीकृत समाजवादीको ६ सय ९१ मत छ । हाल माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी भएको छ । जसमा विप्वलसहितका १८ दलहरु समावेश भएका छन् ।
त्यसले गर्दा नेपाली कम्युनिष्ट पार्टीमा केही मत तलमाथि हुन सक्छ । यद्यपी यो समानुपातिक मतलाई मात्रै आधार मानेर विश्लेषण गर्न नसकिने विश्लेषकहरुको भनाई छ । पश्चिम दाङमा २०७४ सालको समानुपातिक मतका आधारमा तेस्रो र चौथो शक्तिका रुपमा रहेका रास्वपा र नेपाली कम्युनिष्ट पार्टीले एमाले र काँग्रेसका मत काट्न सक्ने आँकलन गरिएको छ । जेनजी आन्दोलनपछि पुराना पार्टी भित्र देखिएको विवादबीचको मत र न्यूट्रल मत जता जान्छ, त्यतै पल्लाभारी हुने अनुमान गरिएको छ । यस्तो मत तान्न उम्मेदवारका आ–आफ्नै दावी छन् । यद्यपी यस क्षेत्रमा अहिले चार पक्षकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
चारलेन बनाउन आफूले सुरु गरेको काँग्रेसका गिरीको दावी
काँग्रेसका दीपक गिरी २०५१ सालदेखि चुनाव लड्दै आएका छन् । यद्यपी उनले अहिलेसम्म दुई पटक मात्रै जितेका छन् । उनले २०७० सालको संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा सदस्यमा मात्रै उनले जित हात पारेका छन् । यो बीचमा एक पटक सिंचाई मन्त्री पनि भए । उनी सिंचाई मन्त्री हुँदा बृहत दाङ उपत्यका सिंचाई आयोजा ल्याउन भूमिका खेलेका थिए । त्यसैलाई नै उनले अहिलेसम्म चुनाबी एजेण्डा बनाउँदै आएका छन् । उनले घोराही–तुलसीपुर चारलेन आफ्नै नेतृत्वमा सुरु भएको दावी गर्छन ।“घोराही–तुलसीपुर चारलेन मैरै नेतृत्वमा ठेक्का तोडेर अहिले काम सुरु भएको हो”,उनी दावी गर्छन ।
त्यति मात्रै होईन्, उनले पश्चिम दाङका सडक सञ्जाल आफूले विस्तार गरेको दावी गर्छन् । टरिगाउँ एयरपोर्ट विस्तारकालािग पनि पहल गरेको भएपनि डीजीले रोकेको उनी बताउछन् ।
दाङलाई सबल र विकसित बनाउन आफ्नो उम्मेदवारी रहेको गिरीले बताए । त्यति मात्रै होईन्, उनले आफ्नो उम्मेदवारी राष्ट्रियता,लोकतन्त्रलाई बलियो बनाउनकालागि रहेको समेत बताए । उनले युवाहरु विदेश पलायन हुनुपर्ने अबस्था रहेको भन्दै यसलाई रोक्न पनि आफ्नो उम्मेदवारी रहेको गिरी बताउछन् । नेपालको संविधान संसोधन गरि जनता मैत्री संविधान बनाउने पनि उनको एजेण्डा छ ।
छोटो समयमा जनताको मन जितेको मास्कीको दावी
नेपाली कम्युनिष्ट पार्टीबाट चुनाबमा होमिएका धनबहादुर मास्की(राजेश) लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका ब्यक्ती हुन् । तर, त्यो उम्मेदवारी आफ्नो मात्रै नभई पश्चिम दाङका जनताको मागका रुपमा रहेको उनको भनाई छ ।“यस क्षेत्रका जनताले नै मलाई आईदिनु प¥यो भन्ने माग भयो, पार्टीबाट पनि त्यस्तै माग भयो”,उनले भने“त्यसैले मैले भइरहेकै पदबाट राजीनामा दिएर चुनाब लड्न आएको हुँ, पदको लोभ भएको भए अहिले नै मन्त्री हुन सक्थेँ ।”
आफू छाटो समयमा प्रदेशको अर्थमन्त्री हुँदा तथा सांसद हुँदा नै लिएको पहलले आफू जनतामाझ स्थापित रहेको उनको भनाई छ । तीन बर्ष अघि भएको निर्वाचनका क्रममा आफूले जे बोलेको हो, ति कामहरुमा भइरहेको भन्दै त्यसले पनि जनताले आफूमाथि विश्वास गरेको मास्कीको भनाई छ । माथिल्लो सडक निर्माण, खोलाहरुमा पुल निर्माण, गाउँ–गाउँमा सडक, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार निर्माण गर्ने काम अघि बढाएकाले पनि आफूले जित्ने कुरामा उनको दावी छ ।“मैले चुनाबका बेला माथिल्लो सडक स्तरबृद्धि, खोलाहरुमा पुल निर्माण जस्ता एजेण्डा बनाएको थिएँ, ति एजेण्डा अनुसार मैले काम गरेँ र परिणाम पनि देखियो”,उनले भने“त्यसले गर्दा पनि अहिले मैले जित्ने आधार बन्यो ।” अब जनताले आस्वासन भन्दा पनि परिणाम खोजेको समेत मास्कीको भनाई छ । उनले अफूले गरेको काम फिल्डमा देखिएको कुरालाई सबैले हेरिदिनुपर्ने समेत बताएका छन् ।
उनले ग्वारखोलादेखि पश्चिमलाई सुन्दर पश्चिम दाङ बनाउने, दामोदर सडक स्तरबृद्धि, ग्वारखोला हाइड्याम्प, प्रादेशिक अस्पतालको स्तरबृद्धि, कृषि क्याम्पस निर्माण, तुलसीपुर–हापुरे चारलेन, राप्ती लोकमार्ग चारलेन बनाउने जस्ता एजेण्डा लिएर जनतामाझ जान लागेको समेत बताएका छन् । उनी पहिलो पटक प्रदेशसभा सदस्य बनेका हुन् । त्यो भन्दा अघि उनी कुनै पनि चुनाब लडेका थिएनन् । उन जनयुद्धका चर्चित डिभिजन कमाण्डर हुन् ।
पूर्व मेयरको संसद बन्ने चाहाना
एमालेबाट चुनाबमा होमिएका घनश्याम पाण्डे २३ बर्षको उमेरमै तुलसीपुर उपमहानगरपालिकाका उपमेयर भएका ब्यक्ती हुन् । २०५१ सालदेखि नियमित चुनाबमा होमिदै आएका पाण्डे तत्कालिन अबस्थामा उपप्रमुख बने । २०६४ र २०७० मा उनले चुनाब नलडेपनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका थिए । नगर प्रमुख हुँदा आफूले गरेका काम नै चुनाब जित्ने आधार रहेको पाण्डे बताउछन् । उनले मेट्रो कलेज स्थापना, अस्वारामा अस्पताल, तुलसीपुरमा ब्यापारिक भवन निर्माणजस्ता परियोजनामा काम गरेका थिए, भने केही नीति गत काम गरेका थिए । त्यसैलाई नै उनले आफ्नो जित्ने आधार बनाएका छन् ।
उनले दाङको समृद्धि र विकास, किसानहरुको हक अधिकार सुनिश्चित, स्वरोजगार सिर्जना, टरिगाउँ विमानस्थल ब्यबस्थिति, समृद्धि र विकासको हब, शिक्षा र स्वास्थ्य, प्रबिधि,उद्यमसिलताको हबका रुपमा विकास गर्ने लक्ष्य राखेका छन् । साथै उनले संसदमा गएपछि संसदीय परमपरालाई जनतामा केन्द्रित गर्नुपर्ने कुरामा पनि जोड दिएका छन् । निर्वाचन क्षेत्र भित्रका जनताका समस्यालाई पहिचान गरि समाधान गर्ने तर्फ संसदलाई केन्द्रित गर्ने उनको योजना छ ।
शुसासन र डेलिभरीको मुद्दा लिएर जनतामा सुवेदी
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाबी मैदानमा होमिएका कमल सुवेदी यस अघिको निर्वाचनमा पनि उम्मेदवार थिए । त्यतिबेला ल्याएको मतलाई नै उनले अहिले जित्ने आधार बनाएका छन् । उनले ल्याएको १५ हजार मत संगठन विनाको मत भएकाले अहिले संगठन हुँदा जित्ने आधार रहेको बताउछन् ।“यस भन्दा अघिको निर्वाचनमा जुन मत आएको थियो, त्यो मत संरक्षण र नयाँ मतदाताको मत मलाई आउँछ”,उनले भने“त्यही नै मेरो जित्ने आधार हो ।” उनले शुसासन र डेलिभरीको मुद्दालाई अघि सारेका छन् । पुराना दलले ३५ बर्षसम्म पनि केही गर्न नसकेको उनको आरोप छ । त्यसले गर्दा पनि अहिले नयाँले अवसर पाउने उनको अपेक्षा छ । अर्को तर्फ रवि र बालेन एक ठाउँमा भएकाले पनि मत बढ्ने उनको अनुमान छ ।
दाङ–३ मा यी हुन्, अन्य उम्मेदवार
दाङ–३ मा राष्ट्रिय जनमोर्चाले कमला जीसी,मंगोल नेश्नल अर्गनाईजेशनले घनश्याम चौधरी,मितेरी पार्टीले सन्तोष सिंह,जनता समाजवादी पार्टीले शोभा डाँगी,आम जनता पार्टी(एकल चुनाब चिन्ह)ले पाण्डवी नेपाली,नेश्नल रिपब्लिक नेपाल पार्टीले प्रितम चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै संयुक्त नागरिक पार्टीले दलविर कामी,श्रम संस्कृति पार्टीले टोपबहादुर महतारा,नेकपा(माओवादी)ले बलबहादुर वली,नागरिक उन्मुक्ति पार्टीले महेश चौधरीलाई उम्मेलवार बनाएको छ । त्यस्तै स्वतन्त्रबाट भागिराम चौधरी,सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्नेत र सिप्रिक कडेँलले उम्मेदवारी दिएका छन् ।



लाइभदाङ । २२ माघ २०८२, बुधबार ०५:३५ बजे