राप्ती गाउँपालिकाद्वारा फोहोरमैला संकलन कार्य पुनः सुरु गर्ने, स्रोतमै वर्गीकरण गरिएको फोहोर मात्र उठाइने

तुलबहादुर कवँर मगर
मसुरिया, ७ माघ।
राप्ती गाउँपालिकाले फोहोरमैला संकलन तथा व्यवस्थापन कार्य पुनः सुरु गर्ने भएको छ। गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै माघ ८ गतेदेखि फोहोर संकलन कार्य नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

गाउँपालिकाका अनुसार अब घर–घरबाट निस्कने फोहोर स्रोतमै वर्गीकरण गरिएको अवस्थामा मात्र संकलन गरिनेछ। स्रोतमै वर्गीकरण नगरिएको फोहोर संकलन तथा व्यवस्थापनमा कठिनाइ हुने भएकाले त्यस्ता फोहोर नउठाइने स्पष्ट गरिएको छ।

जारी सूचनामा फोहोरलाई जैविक, अजैविक र जोखिमयुक्त गरी छुट्याएर राख्न आग्रह गरिएको छ। भान्साबाट निस्कने तरकारीका बोक्रा, फ्याँकिएको खाना लगायतका जैविक ९कुहिने० फोहोर सम्भव भएसम्म घरमै कम्पोष्ट मल बनाउने र सम्भव नभए छुट्टै राख्न अनुरोध गरिएको छ। त्यसैगरी प्लास्टिक, सिसा, धातु, कागज, फ्याँकिएका लुगा तथा कपडाजस्ता अजैविक ९नकुहिने० फोहोर पनि अलग–अलग राख्नुपर्ने छ।

स्यानिटरी प्याड, डायपर, ब्लेड, सुई, ब्याट्रीलगायत जोखिमयुक्त फोहोरलाई सुरक्षित रूपमा छुट्याएर दिनुपर्ने सूचनामा उल्लेख छ।


‘सफा राप्ती, स्वच्छ राप्ती’ अभियानलाई सफल बनाउन घर–घरबाट निस्कने फोहोर स्रोतमै वर्गीकरण गरी संकलन कार्यमा सहयोग गर्न राप्ती गाउँपालिकाले सम्पूर्ण राप्तीवासी तथा सरोकारवाला निकायलाई हार्दिक अनुरोध गरेको छ।

सूचनामा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सबैको सक्रिय सहभागिताबाट मात्र स्वच्छ, सुरक्षित र दीगो फोहोर व्यवस्थापन सम्भव हुने बताउनुभएको छ।

गत मंसिर महिनामा सरसफाइ व्यवस्थापन केन्द्रमा आगलागी भएपछि फोहोर संकलन कार्य स्थगित गरिएको थियो। अब आवश्यक व्यवस्थापन पूरा भएपछि सेवा पुनः सुरु हुन लागेको गाउँपालिकाले जनाएको छ।