नाकाबाट पक्राउ परेका फरार कैदी: जो कारागारका केही ब्यक्तीलाई प्रलोभनमा पारेर भाग्न सफल भएका थिए

दाङ
१० माघ / दाङको घोराही कारागारबाट फरार रहेका कैदीलाई भारतीय नाकाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरि नेपाल–भारत सीमा नाका जमुनाहाबाट फरार कैदीलाई पक्राउ गरिएको जानकारी दिएको हो । कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद फैसला तोकिएर ७ बर्ष कैद भुक्तान गरिसकेका राजपुर गाउँपालिका वडा नं. ३ करंगा निवासी २९ बर्षीय यमराज परियार कारागारबाट गएको पुस ८ गते फरार रहेका थिए ।

विहान ११ बजेतिर छालाको समस्या भएको भनि कारागारबाट निस्केका उनी सोही दिन प्रहरीकै मोटरसाइकल लिएर फरार थिए । मोटरसाईकल भेटिएपनि उनी भेटिएका थिएनन् । त्यसपछि छानविन तथा खोजतलास समिति र ‘अपरेशन एनकी’ बनाएर अनुसन्धान गर्दा सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा नाकाबाट पक्राउ गरिएको हो । उनी भागेर भारत जाने क्रममा भारतीय प्रहरी समेतको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

काफ्लेका अनुसार फरार कैदी परियारले काराकार भित्रकै धेरै ब्यक्तीलाई प्रलोभनमा पारेको समेत खुलासा भएको बताए ।‘उनी कारागार भित्र कैदीका चौकीदार पनि भएका थिए, चौकीदार भएपछि त्यसको दुरुपयोग गर्दै उनले केही ब्यक्तीलाई आर्थिक प्रलोभन पार्न सफल भएको खुलेको छ’, प्रहरी प्रमुख काफ्लेले भने‘ यसमा थप अनुसन्धान भइरहेको छ ।’

कैदी परियारलाई उपचारकालागि लैजान खटिएका प्रहरी जवान धनबहादुर चौधरीसहितउनीहरु अस्पताल नगएर सिधै होटेलमा गएका थिए । होटेलमा केटीहरुको प्रयोग गरेर उनी भाग्न सफल भएका थिए । प्रहरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिएर उनी फरार थिए । त्यसको भोलिपल्ट मोटरसाईकल लमहीको मुसोट स्थित जंगलम भेटिएको थियो । दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वमा खटिएको टोलीसहित तालुक प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा र भारतीय प्रहरी समकक्षीहरुको समन्वयमा खोजतलासबाट उनलाई पक्राउ गर्न सफल भएको उनको भनाई छ ।

प्रहरीका अनुसार कैदी फरार रहेपछि धेरै समय जंगलमा लुकेको खुलेको छ । उनलाई पक्राउ गरि अहिले थप विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साथै कैदी भगाउन भूमिका खेलेको भन्दै प्रहरी जवान धनबहादुर चौधरीलाई पुर्पक्षकालागि कारागार चलान गरिएको छ । अन्य भने पुर्पक्षकालागि धरौटीमा छुटेका छन् । कैदी भगाउन सहयोग गरेको भन्दै ७ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो । कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैद म्याद ठेकिएको कैदी भागेमा पक्राउ परेपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको ब्यबस्था रहेको छ ।


दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार कैदी पक्राउ गर्न सफल भएको भन्दै यो कार्य एतिहासिक भएको बताए ।

जसले प्रेमिकाको हत्या गरेका थिए
ति कैदीलाई प्रेमिका हत्या गरेको ठहर गर्दै २० बर्ष कैद सजाय तोकिएको थियो । परियारको २०७१ सालतिर तत्कालिन सत्बरिया गाबिस वडा नं. ५ निवासी २२ बर्षीया हेमा चौधरीसंग प्रेम थियो । परियारसंगकै यौन सम्बन्ध पछि हेमाको पेटमा गर्भ रह्यो । उनी गर्भवति भएकै समयमा २०७१ जेठ २२ गते घरबाट हराईन् । उनी हराएपछि यमराज शंकाको घेरामा परे । र, २०७१ साउन ४ गते प्रहरीले नियन्त्रणमा लियो । यमराजकै बयानका आधारमा उनलाई साबिक चौलाही गाबिस वडा नं. ३ निवासी शिवप्रसाद चौधरीले सघाएका थिए ।

हेमालाई मोटरसाईलमा लगेर साबिक सतबरिया गाविस वडा नं. ९ सिमपाखापानी जंगलमा राति १ बजे हत्या गरिएको खुल्यो । ‘यमराज परीयारले आफ्नो मोटरसाईकल चलाई बिचमा हेमा चौधरी र पछाडी शिव प्रसाद चौधरीलाई राखेर लगेका थिए’,प्रहरीको अनुसन्धानले भन्छ‘ हराएकै दिन रातको १ बजेतिर सिमपाखापानी जंगलको बखेरी खोला किनारमा पहिले स्प्रे सुघाई बेहोस बनाउन खोज्दा स्प्रेले काम नगरेपछी हेमा चौधरीकै सल दोपट्टाले घाँटी कसी बाँधी कर्तव्य गरी मारेका भन्ने खुल्न आयो ।’

पक्राउ परेका दुबैजनाले सोही बयान दिएपछि २०७१ साउन ६ गते प्रहरीसहित परियार र चौधरी घटनास्थलमा जाँदा मानव अवशेष फेला परेको थियो । घटना स्थलमा दाँया–बाँया ६ वटा बङ्गरा भएको अगाडी भागको हड्डी तथा नलीको हड्डी फेला पारेको थियो । त्यसलाई डीएनए गर्दा हेमाकै भएको परीक्षण रिपोर्टले देखाएको थियो । हेमाको हत्या पछि पहिचान नहोस् भनी उनको शरिरको कपडा, मनिपर्सलगायतका सामग्रीहरु अर्जुनखोला सशस्त्र प्रहरी क्याम्प देखि पश्चिम तर्फ जंगल खोलामा फ्याकेको थिए । साथै हेमाले प्रयोग गर्ने मोवाईल समेत शिवप्रसाद चौधरीले आफ्नो श्रीमतिलाई दिएको खुलेको थियो । पछि प्रहरीले त्यो मोवाइल पनि बरामद गरेको थियो । सम्पूर्ण अनुसन्धान पूरा भएपछि भदौ ३ गते दाङ देउखुरी जिल्ला अदालतले यमराज र शिवलाई २० बर्ष कैद फैसला सुनाएको थियो ।

तत्कालिन अबस्थामा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु नै यो केशको अनुसन्धान गर्न निकै चुनौति खेप्नु परेको थियो । उनीहरु दुबैजनालाई नियन्त्रणमा लिएपछि अनुसन्धानमा सहज भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले बताएका छन् । उक्त घटनाको वडा प्रहरी कार्यालय लमहीले अनुसन्धान गरेको थियो । वडा प्रहरी कार्यालय लमहीका तत्कालिन कार्यालय प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) लक्ष्मणबहादुर शाही, प्रहरी सहायक निरीक्षक (हाल प्रहरी नायव निरीक्षक) सुनिलजंग शाह र प्रहरी जवान –हाल प्रहरी हवल्दार मोहन बहादुर केसी) अनुसन्धानमा खटेका थिए ।