दाङ,२८ पुस । लुम्बिनी प्रदेशमा आज(विहीबार) दुई जना मन्त्री नियुक्ती गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री लिला गिरीले एक जना एमाले र एक जना माओवादी केन्द्रबाट मन्त्री मनोनित गर्ने तयारी भएको छ । एमालेबाट अर्घाखाँची १(१)बाट निर्वाचित चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँके १(१) बाट निर्वाचित कृष्णा केसीलाई नियुक्ती गर्ने तयारी गरिएको छ ।
एमाले र माओवादीले महत्वपूर्ण मन्त्रालय दावी गरेपछि मन्त्रालयको टुंगो लगाउन नसकिएको माओवादी केन्द्रका सांसद कृष्णा केसीले बताईन् ।‘दुबै तर्फबाट महत्वपूर्ण मन्त्रालय माग भयो’,उनले भने‘त्यसैले यसमा टुंगो नलागेपछि अहिले विनाविभागिय रुपमा मन्त्री नियुक्ती गर्ने तयारी भएको हो ।’
माओवादीले अर्थ तथा शहकारी, भौतिक पूर्वाधार विकास मन्त्रालय एवं पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयको दावी गरेको छ । मुख्यमन्त्री एमालेको भएपछि महत्वपूर्ण मन्त्रालय पाउनु पर्ने माओवादीको दावी छ । तर, यसमा एमालेले सहमति जनाएको छैन ।
मुख्यमन्त्री गिरीसहित मन्त्रीहरुले आज (बिहीबार) १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुख अमिक शेरचनले दिउसो १ बजे मुख्यमन्त्री शपथ ग्रहण गराउनेछन् । आज तीन सदस्यीय मन्त्रीमण्डल गठन हुनेछ ।
अहिले लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । यसलाई घटाउने गरि छलफल भइरहेको छ । १० वटा मन्त्रालय मात्रै राख्ने गरि तयारी गरिएको बाँकेबाट निर्वाचित सांसद कृष्णा केसीले बताईन् ।‘मन्त्रालय घटाउने गरि छलफल भइरहेको छ, सायद १० वटा मात्रै हुन्छ होला’,उनले भनिन्‘त्यसमै भागबन्डा मिल्ला ।’
१० वटा मध्ये एमालेले मुख्यमन्त्री बाहेक ४ वटा मन्त्रालय दावी गरेको छ । तर, यो कुरालाई अन्य गठबन्धनका दलले स्वीकार गरिरहेका छैनन् । त्यस्तै माओवादी केन्द्रले ३ वटा र अन्य साना दललाई ३ वटा मन्त्रालय दिने गरि छलफल अगाडी बढार्ईएको केसीले बताईन् ।
लाइभदाङ । २८ पुष २०७९, बिहीबार १२:५४ बजे