घोराही–तुलसीपुर चारलेनः पोल सार्ने क्रममा करेन्ट लाग्दा दुई जना गम्भिर घाइते

दाङ, २९ पुस ।
दाङमा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भिर घाइते भएका छन् । निर्माणाधिन घोराही–तुलसीपुर सडकमा मंगलबार बिहान बिजुलीको पोल सार्ने क्रममा दुई जनालाई करेन्ट लागेको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरस्थित घोराही–तुलसीपुर फोरलेन सडक खण्डमा काम गरिरहेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी
२० वर्षिय राज साहु र सोहि ठाउँका २७ वर्षिय असिम खानलाई करेन्ट लागेको हो ।


साहुको पेट जलेको छ भने खानको अनुहार, घाँटी, हात र खुट्टा जलेको छ । घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको थियो ।

सडक विस्तारको क्रममा विद्युतीय पोल स्थानान्तरण गर्दा सावधानी नअपनाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।