लुम्बिनीबाट कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत बढी प्रतिनिधि

बुटवल, २४ पुस ।
लुम्बिनी प्रदेशका जिल्लाहरुबाट कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरु खुलेका छन्। प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापतिहरु पनि विशेष महाधिवेशनको पक्षमा देखिएका छन्।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार लुम्बिनीका ५२ निर्वाचन क्षेत्रबाट १ हजार ३ सय ५२ जना महाधिवेशन प्रतिनिधि छन्। त्यसबाहेक विभिन्न भातृ संस्थाहरुबाट झण्डै ५० जना छन्। तीमध्ये झण्डै ८ सय ५० जना विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । ‘दुई दिन अघिसम्म ५६ प्रतिशत थियो, अहिले बढेर ६० प्रतिशत भन्दा बढी पुग्नु भएको छ,’ उनले भने, ‘त्यो निरन्तर बढिरहेकाले शुक्रबार साँझसम्म ७० प्रतिशत पुग्ने हाम्रो अनुमान छ ।’

पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, बाँके, कपिलवस्तु, प्यूठान, रोल्पा र पूर्वी रुकुमका जिल्ला सभापतिले हस्ताक्षर नै गरेर विशेष महाधिवेशनको पक्षमा खुलेको उनले बताए।

लुम्बिनी प्रदेशका जिल्लाहरु मध्ये सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रूपन्देहीबाट पनि ८० जनाले विशेष महाविधेशनको पक्षमा हस्ताक्षर गरेका थिए । ५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा १ सय ३० जना क्षेत्रबाट र भातृ संस्थाबाट ७ गरी १ सय ३७ जना महाधिवशेन प्रतिनिधि रहेको निर्वाचन क्षेत्र २ का सभापति प्रजापाल गिरिले बताए ।

उनका अनुसार हस्ताक्षर गरेका मध्ये ४ जनाले अहिले नियमित महाधिवेशनको माग गर्दै पहिलाको हस्ताक्षर फिर्ता लिएको र अहिले विशेष महाधिवेशनको पक्षमा खुलेर हस्ताक्षर गर्नेहरु बढेका छन् । ‘रूपन्देहीबाट मात्र ९० जना विशेष महाधिवेशनको पक्षमा खुल्ने देखिएको छ,’ उनले भने, ‘४ जनाले हस्ताक्षर फिर्ता लिँदा कांग्रेस बचाउनका लागि विशेष महाधिवेशन जरुरी रहेको बताउने र महाधिवेशनका लागि काठमाडौं जानेहरु बढिरहनुभएको छ ।’


रूपन्देहीबाट पहिला विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका मध्ये हरिबहादुर क्षेत्री, नारायण पुन, सन्तराम चौधरी र चिरञ्जीवी पौडेलले फिर्ता लिएको उनले बताए।

विशेष महाधिवेशनको पक्षमा नखुलेका बर्दिया, दाङ र रूपन्देहीबाट महाधिवेशनमा सहभागिता धेरै गराउन विशेष महाधिवेशन पक्षधरहरुले प्रयास जारी राखेका छन्।

लुम्बिनी प्रदेशसभा सदस्य एवं कांग्रेस लुम्बिनीकी सहमहामन्त्री निमा गिरीले सभापतिहरु नखुलेका जिल्ला दाङ, बर्दिया र रूपन्देहीबाट विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि आउने बताइन् । ‘जिल्लाको आन्तरिक समस्याका कारण पहिला हस्ताक्षर नगरेको भए पनि अहिले विशेष महाधिवेशन जरुरी भन्दै काठमाडौं आउनेहरु बढिरहनुभएको छ,’ उनले भनिन्, ‘लुम्बिनी प्रदेशबाट पहिला हस्ताक्षर गरेर १५ जनाले फिर्ता लिँदा विशेष महाधिवेशन माग गरेर अहिले थपिनेहरु ३२ पुग्नुभएको छ ।’

कपिलवस्तुबाट वीरेन्द्रप्रसाद कानोडियाले हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका थिए । तर, कपिलवस्तुबाट संस्थापन पक्षमा खुलेका अभिषेकप्रताप शाह अहिले विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।