सकियो प्रथम तुलसीपुर महोत्सव

दाङ, २० पुस ।
दाङको तुलसीपुरमा पुस ४ गतेदेखि संचालन भएको ‘प्रथम तुलसीपुर महोत्सव’ आज सकिएको छ । स्थानीय वस्तुको बजारीकरण र औद्योगिक वातावरण निर्माणका लागि संचालित महोत्सवको आज समापन गरिएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा संचालित ‘प्रथम तुलसीपुर महोत्सव’ आजसम्म गरेर १७ दिनसम्म संचालन भएको हो ।

संयोजक केसीले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दर्शक, स्थानीय सरकार, सुुरक्षा निकाय, व्यवसायी, पत्रकार लगायतलाई धन्यवाद ज्ञापन गरेका हन् । महोत्सवको आयव्यय छिट्टै सार्वजनिक गर्ने उनले बताए ।

समापन अवसरमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मेला महोत्सवले आर्थिक कारोबारलाई थप चलायमान बनाएको बताए । उनले महोत्सवले धेरैलाई स्वरोजगारको माध्यमसमेत बनेको बताए ।


उनले यसपटकको महोत्सवबाट मात्रै तुलसीपुर उपमहानगरपालिकाले ३५ लाख बढी राजश्व संकलन गर्न सफल भएको बताए। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले महोत्सव सुरक्षितरुपमा सफल भएको भन्दै खुशी व्यक्त गरे।

उहाँले सबैको साथ र सहयोगले महोत्सवमा कुनै अप्रिय घटना हुन नपाएको र महोत्सव सुरक्षितरुपमा अवतरण भएको बताए।

महोत्सवमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको छ । महोत्सवमा युवा व्यवसायी उत्पादनका लागि व्यावसायिक योजना प्रतियोगितादेखि ‘समृद्ध तुलसीपुर, मेरो दायित्व’ विषयमा प्रतियोगिता समेत गरिएको हो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको छ ।

समापन कार्यक्रममा गायक रोशन रत्गैँया र गायिका बिष्णु सुनारले सांगितिक प्रस्तुति दिए । कार्यक्रमको सहजीकरण महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले गरेका हुन् ।