विश्वविद्यालयको २१ लाख खर्च भएको जग्गा खोजविन प्रतिवेदनमा के छ?

दिपक बोहरा
दाङ, १७ पुस ।
नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा तथा सम्पति खोजविनकालागि उच्च अदालतका पूर्व न्यायाधिश शेखर प्रसाद पौडेलको नेतृत्वमा समिति बन्यो । त्यो समितिले ९ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन तयार पार्दासम्म २१ लाख खर्च भइसकेको छ । त्यसमा खासै नयाँ कुरा छैन । विगतमा भएको अनुसन्धानलाई ब्याख्या गर्ने बाहेक अन्य कुनै नयाँ काम हुन सकेको छैन ।

प्रतिवेदन अनुसार ४ सय ८ विघा जग्गामा मोही रहेको पाइएको छ । देउखुरीको एक हजार तीन सय ३७ विघा जग्गा मध्ये ४०८ विघा जग्गामा मोही रहेको पाईएको कुलसचिब माधव अधिकारीले बताए । जसमा लमही नगरपालिकाको सतबरियामा अतिक्रमकि १६८ विघा जग्गा मध्ये ८३ विघा जग्गामा मोही छ, भने राजपुर गाउँपालिकाको गङ्दी र दूलैयामा एक हजार एकसय ३२ विघा जग्गा मध्ये ३०६ विघा जग्गामा मोही रहेको छ ।

त्यस्तै गढवा गाउँपालिकाको गोवरहियामा ३६ विघा जग्गा मध्ये १८ विघा जग्गामा मोही लोगेको छ । जसमा केही मोहीहरुको नाम नामेसी फरक देखिएकाले मालपोत कार्यालयको श्रेष्ता अनुसार भिडाउन आबश्यक रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । केही मोहीहरु बेपत्ता भएको भन्ने भनाइ रहेको कारण जग्गाधनी प्रमाण पुर्जामा रहेका मोही र क्षेत्रफल फरक हुने सक्ने अबस्था रहने प्रतिवेदनमा उल्लेख गरेको कुलसचिब अधिकारीले बताए ।

२०६९ मंसिरमा देउखुरी जग्गा ब्यबस्थापन सम्बन्धि प्रतिवेदनमा लालपुर्जामा भएका, मोही लगतमा नभएका, अधिकांस मोहीहरु जग्गा छाडी अन्यत्र गएका भनि मोहीहरुको नामावली र क्षेत्रफल समेत उल्लेख भएको देखिएको छ ।

देउखुरीको सबै जग्गा अतिक्रणमा छ । सोही जग्गा विश्वविद्यालयलाई सञ्चालनकालागि भनेर दाताहरुले सहयोग गरेका थिए । २०५८ सम्म त्यो जग्गाबाट आयस्ता समेत आउथ्यो । त्यस बेला देउखुरीमा गोदाम घरहरु समेत थिए । तर, अहिले आयस्ता आउने गरेको छैन ।


देउखुरीमा हाल १२ विघा जग्गा तेरोमेरोका कारणले नाममा आउन सकेको छैन । उक्त जग्गालाई विश्वविद्यालयले नाममा ल्याउन चासो नदिएको प्रतिवेदनमा उल्लेख छ । हाल गढवामा ८ विघा र सतबरियामा ४ विघा जग्गा तेरोमेरो भनेर दर्ता भएको छैन । त्यस्तै प्रतिवेदनमा जग्गाको सिमाना नभएको पाईएको कुरा पनि उल्लेख गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नं.१८ को बेलझुण्डीमा पनि तीनसय २६ विघा जग्गा छ । जुन जग्गामा मोही छैन । तर, २० विघा जति सोही ठाउँको जग्गा पनि अतिक्रमणमा परेको छ ।

कुलसचिब अधिकारीका अनुसार मोही परेका किसानलाई जग्गा दिएपनि ८ सय विघा जग्गा विश्वविद्यालयसंगै रहन्छ । त्यो जग्गा लिजमा दिएमा विश्वविद्यालयको आम्दानी बढ्ने उनको भनाई छ ।

देउखुरीमा २०१० सालमा मजगैया परिवारले उच्च शिक्षाको प्रोत्साहन गर्दै उक्त जग्गा दान गरेका थिए । जसमा १२ खण्डमध्ये १ खण्डमा महादेवा मन्दिरको पुजाआजा गर्ने र ११ भागको आयस्ताबाट विद्यालयको पठनपाठन गर्ने कार्य गरिएको थियो । तत्कालिन अबस्थामा जनता विद्यालय र सूदय रामेश्वर महादेवजीको नाममा दान गरिएको थियो । २०२८ मा उक्त जग्गामा नाप नक्सा भयो र २०४५ सालमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा नामसारी भएको थियो ।

त्यस्तै २०२७ सालमा विश्वविद्यालय रहेको बेलझुण्डीमा साविक विजौरी र मानपुर गाविसमा ३४१ बिघा जग्गा दाताहरुबाट प्राप्त भएको थियो । हाल मोही परेको जग्गा बाँडफाँटकालागि सरकारले यही बर्षको चैत मसान्तसम्म जग्गा बाँडफाँटकालागि निवेदन दिने सूचना समेत जारी गरेको छ । सोही निवेदनका आधारमा ०८३ साल असारमसान्तसम्म टुंगोमा लगाईसक्ने गरि सूचना जारी गरेको हो । विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनकालागि भनेर पटक–पटक छलफल बहसहरु हुने गरेको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन् ।