रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे, महामन्त्रीमा उपाध्याय

दाङ,३१ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लुम्बिनी प्रदेशको सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ । आईतबार सम्पन्न पार्टीको पहिलो प्रदेश अधिवेशनबाट घिमिरेको सभापतित्वमा नयाँ कार्य समिति निर्माण गरिएको हो । त्यस्तै उपसभापति दुर्गा अर्याल, महामन्त्रीमा सिएम उपाध्याय(बाँके), सहमहामन्त्रीमा विक्रम पौडेल, र मुना हमाल निर्वाचित भएका छन् ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत पाउनुभएको थियो । उहाँले १ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो । तर, गोपालले शालिकरामलाई समर्थन जनाएपछि निर्वाचन नगरी शालिकरामलाई सभापतिमा निर्वाचित भएको घोषणा गरिएको रास्वपा नेता हरि रिजालले बताउनुभयो ।


सभापति पदका लागि ६ जना बीच भएको चुनावमा रुपन्देहीका शालिकराम घिमिरेले १९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गर्नुभएको थियो ।

मतदानमा ८४३ मतदाता रहेकामा ५५२ मत मात्र खसेको थियो । सभापतिको सहमति जुटेपछि अन्य पदमा पनि सहमति जुटेको थियो ।