एक दिन औषधि छुटाउँदा ३० दिनसम्म हालेको औषधिले काम गर्दैनः डा. साह

निरला अर्याल
तुलसीपुर,१२ पुस।
राप्ती आँखा अस्पतालको आयोजनामा जलविन्दु (ग्लुकोमा) सम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ। कार्यक्रम राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर तथा जलविन्दु विशेषज्ञ सहायक प्रा.डा. रञ्जित कुमार शाहको अध्यक्षता तथा प्रशासनिक समितिका संयोजक ध्रुव गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा चोर रोगको नामले चिनिने जलविन्दुका बिरामीहरूलाई नियमित चेकजाँच, फलोअप, औषधि राख्ने सही तरिका, रोगबाट बच्ने उपाय लगायतका विषयमा विस्तृत जानकारी दिइएको थियो।

जलविन्दु जिनका माध्यमबाट सर्ने एक प्रकारको रोग भएको र यो विशेषगरी दाजुभाइ, दिदीबहिनी जस्ता पारिवारिक सदस्यहरूमा देखिन सक्ने भएकाले परिवारका एकजनामा जलविन्दु देखिएमा सम्पूर्ण परिवारले अनिवार्य रूपमा आँखा परीक्षण गराउनुपर्नेमा जोड दिइएको थियो।

जलविन्दु दुई प्रकारका हुने जानकारी दिँदै विशेषज्ञहरूले एउटा प्रकारमा सुरुवाती लक्षण देखिने र अर्को प्रकारमा दृष्टि नशा सुकिसक्दा पनि लक्षण नदेखिने भएकाले समयमै परीक्षण अत्यन्त आवश्यक रहेको बताए। सामान्यतया टाउको दुख्ने, रिंगटा लाग्ने, एक्कासी दृष्टि बन्द हुने, बिस्तारै साइड भिजन कम हुँदै जाने, इन्द्रेणी जस्तो देखिने तथा चम्किलो उज्यालोमा राम्रोसँग नदेखिने जस्ता लक्षण देखा परेमा जलविन्दुको शंका गर्नुपर्ने सहायक प्रा.डा. रञ्जित कुमार शाहले जानकारी दिए।

प्रशिक्षणका क्रममा डा. शाहले जलविन्दुका बिरामीलाई औषधि कहिल्यै नछाड्न आग्रह गर्दै “बरु एक छाक भात नखानुस्, तर औषधि नछाड्नुस्। औषधि हाल्ने समयमै हाल्नुपर्छ, ढिलो गर्दा मनलाई सन्तोष भए पनि औषधिले अपेक्षित काम गर्दैन,” भन्दै चेतावनी दिए। उनले एक दिन औषधि छुटेमा लामो समयसम्म पनि अवस्था बिग्रन सक्ने बताए।

कार्यक्रममा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले अत्यधिक मानसिक तनावले आँखाको दृष्टि नशा कमजोर बनाउने भएकाले तनावमुक्त जीवनयापन गर्न सुझाव दिए।


त्यसैगरी डा. वर्षा केसीले नियमित फलोअपका क्रममा डाक्टरले दिएको पुरानो रिपोर्ट साथमै लिएर आउनुपर्ने र एक पटकमा एक थोपा भन्दा बढी औषधि नराख्नुपर्ने जानकारी दिए।

जलविन्दु भएका बिरामीहरूले नियमित व्यायाम, प्राणायाम तथा योग गर्नुपर्ने र खानपानमा समेत सुधार गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा सुष्मा जिसीले आँखामा औषधि राख्ने सही तरिकाबारे व्यवहारिक प्रशिक्षण दिनुभएको थियो।

दाङ तथा छिमेकी जिल्लाहरूबाट सहभागी भएका करिब ७० जना जलविन्दु बिरामीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। सहभागीहरूले सचेतना कार्यक्रमले आफूहरूलाई थप ज्ञान र आत्मविश्वास प्रदान गरेको बताउँदै परिवार, साथीभाइ तथा छरछिमेकमा समेत जलविन्दु सम्बन्धी सन्देश फैलाउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघका कोषाध्यक्ष श्यामप्रकाश आचार्य, सह–कोषाध्यक्ष प्रणव खड्का, लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लीला शाह, राप्ती आँखा अस्पतालका प्रशासनिक समितिका सदस्य गीता भुसाल, नेत्र विशेषज्ञ डा. सुमित पाण्डे, डा. चन्द्रशेखर शर्मा, बाह्य कार्यक्रम संयोजक विमल घिमिरे, सह–संयोजक पूर्ण ओली, काउन्सेलर विष्णु खनाल लगायतको उपस्थिति रहेको थियो।

अस्पताल व्यवस्थापक शशी लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निरला अर्यालले गरेका थिए।