तुलसीपुर महोत्सवमा आज चर्चित गायिका समिक्षा अधिकारीको प्रस्तुति रहने

दाङ, ०९ पौष ।
दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव–२०८२ मा आज चर्चित गायिका समिक्षा अधिकारीको विषेश प्रस्तुति रहने भएको छ । महोत्सवको छैठौँ दिन आज गायिका अधिकारी आउने भएपछि दर्शकको उपस्थिति पनि उल्लेख्य हुने अनुमान गरिएको छ ।

महोत्सवमा आज गायिका अधिकारीसंगै गायक दिपक वली, सन्दिप सेन्चुरी, गायिका देवकुमारी खत्री लगायतको प्रस्तुति रहने भएको हो । महोत्सवमा दिनप्रतिदिन दर्शकको सहभागीता उल्लेख्य हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो ।

महोत्सवमा सांगीतिक कार्यक्रमका साथै लण्डन ब्रिज, जलपरी आकर्षणको केन्द्रबिन्दु बनेका छन् । स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि प्रथम तुलसीपुर महोत्सव संचालन भइरहेको छ ।


महोत्सवमा हरेक दिन दर्शकको सहभागीता बढ्दै गएपछि कारोबार पनि बढ्दै गएको छ । महोत्सवले तुलसीपुरको आर्थिक गतिविधिलाई थप चलायमान बनाएको भन्दै व्यवसायी पनि उत्साहित भएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो ।

महोत्सवमा रुकुम पश्चिमको सिस्नोदेखि जुम्लाको मार्सी चामल बिक्रि भइरहेको छ । यस्तै सल्यानी खुकुरीदेखि स्थानीय हस्तकलाका सामग्रीको पनि बजारीकरण भइरहेको महोत्सव आयोजकले जनाएको छ । ‘औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ पुस ४ गतेदेखि सुरु भएको महोत्सव १९ गतेसम्म संचालन हुनेछ ।