प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार पाण्डेको चुनावी गीत सार्वजनिक

तुलसीपुर,९ कात्तिक ।
लुम्बिनी प्रदेशका प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार घनश्याम पाण्डेको चुनावी गीत सार्वजनिक गरिएको छ । ‘भिजन भाको मिशन भाको घनश्याम पाण्डे नै हुन । एमालेलाई जिताएर विकास गर्नुछ जुन । दूरगामी सोच विकासमा दिन्छन् उनले जोड । घनश्याम पाण्डे जिताउन सूर्यमा हालौ सबले भोट….’ बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रेस चौतारी नेपाल तुलसीपुर शाखाको आयोजनामा एक कार्यक्रमको आयोजना गरेर थारु र नेपाली दुबै भाषामा तयार पारिएको चुनावी गित सार्वजनिक गरिएको हो । तुलसीपुर उपमहानगरको नेतृत्वमा रहँदा घनश्याम पाण्डेले गरेका विकास निर्माण, कृषी, स्वास्थ्य, शिक्षा, पर्यटन, थारु संस्कृति संरक्षण लगाएतका विषय वस्तुलाई चुनावी गीत मार्फत झल्काउने प्रयास गरिएको छ ।

स्रष्टालाई सम्मान
यसैबीच चुनावी गीतका स्रष्टालाई पनि सम्मान गरिएको छ । भिजन भाको मिशन भाको घनश्याम पाण्डे नै हुन बोलको गीतकार प्रेम विवश घर्ती र सूर्यमा हालौ छ्याप्प भोट बोलको गीतकार दीपक वलीलाई दाङ निर्वाचन क्षेत्र नं ३ (१)का प्रदेश सभा उम्मेदवार घनश्याम पाण्डेले सम्मान गर्नु भएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले स्थानीय लोक, कला र संस्कृति संरक्षणमा आफ्नो मुख्य जोड रहेको बताउनुभयो । प्रेस चौतारी नेपालका तुलसीपुर अध्यक्ष वसन्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रेम विवश घर्ती, चौतारीका उपाध्यक्ष प्रेम कुमारी बुढामगर लगायतले सम्बोधन गर्नुभएको थियो ।