
दाङ, १७ जेठ ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चबर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले पाँच वटा समिति तथा सरोकारवालासंग छलफल गरि सुझाब संकलन गरेको छ । यस अघि पहिलो पञ्चबर्षिय योजना आर्थिक बर्ष २०८२÷०८३ मा सकिएकाले दोस्रो पञ्चबर्षिय योजना बनाउन लागिएको हो । त्यस क्रममा विपद ब्यबस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले एक वडा, एक पार्क, मुहान सुकाउने विरुवा विस्थापन, स्थानीय उद्योगीलाई प्रबद्र्धन गर्नुपर्ने बताए । त्यस्तै आर्थिक विकास शाखा अन्तर्गत घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले स्थानीय उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने, कालोबजारी ऐन संसोधन गर्नुपर्ने जस्ता सुझाब दिए ।
त्यस्तै कृषि तथा पशुपंक्षी समितिको तर्फबाट पशु शाखा प्रमुख डा। मनोज वलीले कौशि खेति कार्यक्रम,कृषक सञ्जाल कार्यक्रम, इन्डोर एग्रिकल्चर जस्ता कुराहरु थप गरिएको भन्दै यसले कृषि क्षेत्रलाई प्रभाबकारी बनाउने बताए ।
त्यस्तै शिक्षा शाखा प्रमुख चक्र भण्डारीले राष्ट्रिय खेलाडीलाई प्रोत्साहन, उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न कोष निर्माण गर्ने कुरा सकारात्मक रहेको बताए । त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठले वडा–वडामा महिला सेल बनाउने, महिला उद्यमीको तथ्यांक संकलन गर्नेजस्ता कार्यक्रम हुनुपर्ने बताए ।
त्यस्तै सुशासन समितिको तर्फबाट अधिकृत शिव कुमार शर्माले‘हेलो जनता’ कार्यक्रम, ‘जनताको कर, जनतालाई खबर’ कार्यक्रम पनि प्रभाबकारी हुने बताए । त्यस्तै पूर्वाधार विकास समितिको तर्फबाट इन्जिनियर श्रीनारायण चौधरीले टुक्रे योजना भन्दा पनि ठूला योजनालाई प्रथमिकता दिनुपर्ने बताए । साना योजना हुँदा बजेट खर्च हुने तर, उपलब्धी नदेखिने उनले बताए ।
त्यस अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा। नहकुल केसीले योजना बनाएर मात्रै नहुँने बताए । उनले कार्यान्वयन नै महत्वपूर्ण पाटो रहेको भन्दै यस तर्फ ध्यान दिनुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले संघीय सरकारसंग टरिगाउँ एयरपोर्टलाई विस्तार गर्न पहल गर्ने, तुलसीपुरमा चक्रपथ निर्माण गरि नगर बस सञ्चालन गर्ने, दंगीशरण राजा बसेको स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, चमेरे गुफालाई पर्यटनको केन्द्र बनाउने, मानव इतिहास बोकेको फुलवारीलाई पर्यटनको रुपमा विकास गर्ने, जलासय निर्माण गरि सिंचाई ब्यबस्थापन गर्ने, नगर स्तरीय मेघा अस्पताललाई ब्यबस्थित बनाउने योजना रहेको बताए ।
हाल उक्त मस्यौदामाथि छलफल भएर सुझाब संकलन गरिएको भन्दै त्यसलाई केही समयपछि अन्तिम रुप दिने तयारी रहेको समेत नगर प्रमुख खड्काले बताए ।
त्यस अवसरमा उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशव पार्धेलगायत समितिका संयोजकहरुले समेत आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख रमा खड्काले गरेकी थिइन ।



लाइभदाङ । १७ जेष्ठ २०८३, आईतवार २२:१४ बजे