दाङ, १ जेठ ।
लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/०८१ कालागि २० प्रतिशत कटौति गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरि छलफल अगाडी बढाईएको छ ।
‘विभागिय मन्त्री तोकिएका छैनन्, त्यसले गर्दा नीतिगत छलफल गर्न पाईएको छैन’,उनले भने‘राजश्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पु¥याएको छ, स्रोत अनुगमन समितिको बैठक बसेर गएको वर्षको बजेटको ८० प्रतिशत मात्रै बजेट ल्याउने गरि मन्त्रालयलाई मार्गदर्शन गरिएको छ ।’
विभागिय मन्त्री आएमा सोही नीति गत छलफल गरेरै अगाडी बढ्ने उनले बताए । अहिले प्रि बजेटमा छलफल चलिरहेको भन्दै बजेट सीमा निर्धारणको अन्तिम चरणमा पुगेको प्रदेश योजना आयोगका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले बताए । ‘अहिले प्रि बजेट छलफल चलिरहेको छ । बजेटको सीमा निर्धारणको अन्तिम चरणमा पुगेको छ’, उनले भने ‘बजेट गाईडलाईनहरू ड्रिस्टिब्यूट भएको छ ।’
गएको वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख रूपैँया बजेट आएको थियो । तर, यस वर्ष सोही बजेटको २० प्रतिशत कटौति गर्ने गरि प्रिबजेटमा छलफल भइरहेको उनको भनाई छ । विगतको बजेटमा २० प्रतिशत कटौति भएमा ३४ अर्ब १० करोडको हाराहारीमा बजेट आउने छ ।
यस वर्ष नयाँ योजना थप्ने भन्दा पनि विगतका ठूला योजनालाई पूरा गर्नेतर्फ बजेट केन्द्रित हुने समेत उनले बताए । विगतका जस्ता खुत्रुके योजनाहरू कटौति हुने छन् ।
समृद्धि, रोजगारी र गरीवि निवारण नै मुख्यमन्त्रीको प्राथमिकता रहेकाले यसकै फेरिफेरीमा बजेट आउने सम्भावना रहेको समेत उनले बताए । तर, त्यो कुरा नीति तथा कार्यक्रम पछि मात्रै थाहा हुने बताए । राष्ट्रिय लक्ष्य पनि आर्थिक समृद्धि र रोजगारी नै भएकाले यसतर्फ बढि केन्द्रित हुने सक्ने उनको भनाई थियो । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १ जेष्ठ २०८०, सोमबार १४:१० बजे