
दाङ, ०९ पौष ।
तुलसीपुरमा मिनिट्रकसंग मोटरसाइकल ठोक्किदा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरका ४४ वर्षिय नारायण शर्मा गम्भिर घाइते हुनुभएको हो ।
दुर्घटनामा गम्भिर घाइते शर्मालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी होम बहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार शर्माको टाउको, अनुहार शरिरमा चोट लागेको छ ।
प्रहरीका अनुसार सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ९८४ नम्बरको मिनिट्रकसंग तुलसीपुर–७ डाँडापातुमा विपरित दिशाबाट जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१–९०३५ नम्बरको मोटरसाइकल ठोक्किएको हो । मिनिट्रक र चालक तुलसीपुर–९ बेलुवाका ३२ वर्षका भोजराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लाइभदाङ । ९ पुष २०८२, बुधबार ०८:०३ बजे