राप्ती गाउँपालिका अध्यक्षले भनेः जनताको काम गर्दा दोषी भयौं, न्यायकालागि उच्च अदालत जान्छौं

तुलसीपुर, ७ पुस । दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जनताको काम गर्दा अदालतले दोषी ठह¥याएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्थापना हुँदै गर्दा सडकको दायाँ–बायाँ पर्ने सबै संरचना हटाउनका लागि सडक डिभिजन कार्यालयले सूचना प्रकाशन गरेपछि स्थानीयले आफ्नै घर अगाडीका रुखहरु काटेको बताए ।

“त्यो सूचनापछि कतिपय स्थानीयवासीले आफ्नै घर अगाडि रहेका रुखहरू काटे। आज फेरि म भन्न चाहन्छु – हामी जनप्रतिनिधिले रुख काट्ने कुरा त परै जाओस्, रुखको एउटा हाँगा पनि भाँच्ने काम गरेका होइनौं।”,उनले लेखेका छन्“हामीले न आरा चलायौँ, न कसैलाई रुख काट्न आदेश दियौँ। तर पनि आज यस्तो? यहाँ जनप्रतिनिधि भएपछि जसलाई जे आरोप लगाए पनि हुदो रहेछ।”

उनले राप्तीका जनतालाई बचाउनु, नागरिकको पक्षमा उभिनुलाई नै अपराध करार गरिएको समेत उनको भनाई छ । जिल्ला अदालतमा डिभिजन बन कार्यालय लमहीले कुनै व्यक्तिविरुद्ध नभएर राप्तीवासी जनताको पक्षमा उभिने साहसविरुद्ध दायर मुद्दा दर्ता गरिएको समेत उनको भनाई छ ।

उनले अदालतको फैसला स्वीकार गर्ने भन्दै यो नै अन्तिम भने नभएको उनको भनाई छ । उनले न्यायकालागि उच्च अदालतमा जाने समेत उनले बताए ।“यो नै अन्तिम फैसला होइन। न्यायको यात्रा कहिलेकाहीँ लामो हुन्छ, घुमाउरो हुन्छ, पीडादायी हुन्छ”,उनले भने“ त्यसैले हामी उच्च अदालत जानेछौँ, सत्य र न्यायप्रतिको भरोसाका साथ।”

जनताको लागि बोलेको आवाजलाई अपराध ठहर गर्दा, जनताको पक्षमा उभिएको जनप्रतिनिधिलाई गलत नियतको चश्माबाट हेर्दा मन दुख्ने गरेको समेत उनले बताए । तर, यी कुराले आफू कम्जोर नभएको उनले बताए ।

न्याय कहिल्यै पनि अन्धो नहुँने भन्दै सत्यलाई केही समय दबाउन सकिएपनि सदाकालागि कैद गर्न नसकिने समेत बताए ।
अध्यक्षसहित ८ जना दोषी


पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा जथाभाबी रुख कटान गरेको भन्दै जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट र ३ जना वडा अध्यक्षलाई दोषी ठहर गरेको छ । अदालते ४ जनप्रतिनधिसहित ८ जनालाई दोषी ठहर गरेको हो । अदालतले दुई वर्ष अघिको मुद्दाको सुनवाइ अध्यक्ष विष्ट, ३ जना वडा अध्यक्षसहित ८ जनालाई दोषी ठहर गरेको हो।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट समेत ९ जनाविरुद्ध ‘बिना इजाजत प्रमाण बेगर सडक क्षेत्राधिकार भित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा फैसला सुनाएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए। अदालतले ९ जनाविरुद्ध दायर भएको रुख काटेर ओसारपसार गरेको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ।

सूचना अधिकारी वलीले अदालतले राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष वीर बहादुर चौधरीलाई १ महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने आदेश भएको बताए।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित १ नम्बर वडा अध्यक्ष गेमे खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५–१५ दिनको कैद सजायको फैसला सुनाएको छ।

त्यस्तै तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको छ। २०८० मंसिर १० गते डिभिजन वन कार्यालय लमही, देउखुरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो।