
दाङ, ९ असोज ।
विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले साताव्यापी कार्यक्रम सुरु गरेको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो।
नेपाल फार्मेसी सङ्घ दाङ शाखाका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजय कुमार मिश्र प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासन तथा नेपाल फार्मेसी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुलभ अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. अजय कुमार मिश्रले स्वास्थ्य सेवामा औषधिको सुरक्षित, प्रभावकारी र तर्कसंगत प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले औषधिसम्बन्धी सही सूचना र परामर्श प्रदान गर्दै बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन फार्मासिस्ट र अन्य स्वास्थ्यकर्मीबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। विशिष्ट अतिथि सविन प्रियासनले फार्मेसी क्षेत्र केवल औषधि वितरणसँग मात्र सम्बन्धित नभई नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताउनुभयो। उहाँले फार्मासिस्टहरूले आफ्नो व्यावसायिक दक्षतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। स्वास्थ्य क्षेत्रमा जनचेतना फैलाउन तथा नागरिकलाई औषधिको सही प्रयोगबारे जानकारी दिन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
त्यस्तै, विशिष्ट अतिथि सुलभ अधिकारीले फार्मासिस्टको पेशागत मर्यादा, क्षमता विकास र स्वास्थ्य सेवामा उनीहरूको भूमिकालाई थप प्रभावकारी बनाउन निरन्तर कार्यक्रम आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सङ्घका सदस्य संगीता खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव दिलकीरण परियारले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
साताव्यापी कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। सङ्घका अनुसार सप्ताहभरि रक्तदानसँगै विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक कार्यक्रम आयोजना गरी विश्व फार्मेसिस्ट दिवस मनाइनेछ। कार्यक्रममार्फत फार्मासिस्टको योगदानलाई समाजसम्म पुर्याउने तथा स्वास्थ्य सेवामा औषधिको सुरक्षित प्रयोगबारे नागरिकलाई सचेत गराउने लक्ष्य राखिएको छ।



लाइभदाङ । ९ आश्विन २०८३, शुक्रबार २०:५१ बजे