दीपक बोहरा
दाङ
५ माघ / दाङको तुलसीपुरमा चोरी गर्ने गिरोह पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुरमा तीन जनाले व्यबसायीक रुपमा चोरी काम गर्ने गरेको र यस क्षेत्रमा हुने सबै चोरीका काम उनीहरुले नै गर्दै आएको बताए । अहिले दुईजनालाई पक्राउ गरेको र एक जनाको खोजी कार्य जारी रहेको उनले बताए । ‘गिरोहमा तीन जना व्यक्ती सक्रिय भएको अनुसन्धानबाट खुल्यो ति मध्ये दुईजनालाई हामीले पक्राउ गरिसकेका छौं, अर्का एकजनाको खोजी कार्य भइरहेको छ’,उनले भने‘अहिले यस क्षेत्रमा जति चोरी हुने गरेका छन्, यी तिनै जना मिलेर गरेको पाइयो ।’
पक्राउ पर्नेमा तुलसीपुर ५ घरका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. वडा नं. १० नारायणपुर निवासी १९ बर्षीय बिषाल परियार रहेका छन् । तर उनीहरु लामो समयदेखि तुलसीपुर ६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएका छन् ।
उनीहरुले यस क्षेत्रमा चोरी गर्ने व्यबसाय नै सञ्चालन गरेको पाईएको प्रहरी नायब उपरीक्षक अर्यालको भनाई छ । सीसी क्यामेराको निगरानी र अन्य अनसन्धानबाट उनीहरु शंकास्पद भएपछि ईप्रका तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा गएको प्रहरीले टोलीले कोठामा छापा मार्दा चोरी गरेका बिभिन्न सामाग्रीहरु भेटिएको र बरामद समेत गरेको बताए ।
उनीहरुको कोठाबाट माछा जस्तो आकार भएको दाप सहितको खुकुरी थान १ राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप थान १, बच्चाले हातमा लगाउने चाँदिको जस्तो देखीने बाला थान १, चाँदीको जस्तो देखीने सिक्री थान १, फलामको हतियार नोख थान १, फलामको ३ फिट ३ ईन्च लामो सरिया थान १, रा १ प ५४७३ नम्बरको मोटरसाईकलको दर्ता किताब थान १, ११९६२१५० नम्बरको को ममता डीसी (दाङ)को राहदानी थान १, ०६६२७९०३ नम्बरको चोकमणी गिरी (दाङ) को राहदानी थान १, कानमा लगाउने पहेलो रङ्गको गहना २ जोडी , पहेलो रङ्गको मंगलसुत्र थान १,पहेलो रङ्गको चुरा थान २, लाभा कम्पनीको फुटेको मोबाईल थान १ र बेन्चो कम्पनीको मोवाईल एक थान बरामद गरिएको छ ।
अहिले यी सामग्रीका मालिकहरु आएर आफ्नो सामान पहिचान गर्ने गरेको समेत प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।‘अहिले जुन सामान हामीले बरामद गरेका छौं, ति सामाग्रीहरु मेरा हुँन भन्दै मालिकहरु आउने गर्नुभएको छ’, उनले भने‘यस क्षेत्रमा हरेक चोरीका काम गर्ने गरेका छन् ।’
उनीहरु यस अघि पनि पक्राउ परेर छुट्ने गरेको समेत प्रहरीले बताएको छ । माघीकै दिन राती तुलसीपुरको सल्यान रोडका पसलहरु चोरी गर्नेहरु समेत उनीहरुनै रहेको प्रहरीले बताएको छ । पछिल्लो समय तुलसीपुरमा चोरीका घटना बढिरहेका छन् । चोरी नियन्त्रण कार्य प्रहरीकालागि चुनौति बन्दै गएको थियो । उनीहरुलाई पक्राउ गरेपछि चोरीका घटनामा कमी आउन सक्ने प्रहरी नायब उपरीक्षक अर्यालको भनाई छ ।
लाइभदाङ । ५ माघ २०७८, बुधबार १०:१६ बजे