अमेरिकाबाट फेरी ७५ जना नेपाली डिपोर्ट

काठमाडौं,४ पुस ।
अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानुनको परिपालन नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ । हिजो बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको हो । बिहीबार डिपोर्ट हुनेमा ३ महिला रहेका छन् भने ७२ जना पुरुष रहेका छन् । उनीहरू अधिकांश तल्लोबाटो अवैध बाटो हुँदै अमेरिका गएकाहरू रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।

डिपोर्ट हुनेमा २ जना भिजिट भिसामा बस्नेहरू पनि रहेका छन् । त्यस्तै ३० वर्षदेखि अमेरिका बस्दै आएका तर, पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्ट भएका छन् । यसरी फर्किएकाहरूले एक करोड रुपैयाँसम्म बिचौलियालाई बुझाएर अमेरिका पुगेको बयान दिएको पंगेनीको भनाइ छ । डिपोर्ट भएकाहरूलाई अध्यागमन कार्यलयले बुझ्ने र थप अनुसन्धानका लागि ब्युरोमा बुझाउँछ । अमेरिकाको राष्ट्रपति पदमा ड्रोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन् । ट्रम्पले २०२५ जनवरी २० गतेदेखि अमेरिका सत्ता सम्हालेका हुन् । ब्युरोका अनुसार पछिल्लो ७ वर्षमा ६६६ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । यसअघि भदौ १९ गते अमेरिकाले ३७ नेपालीलाई डिपोर्ट गरेको थियो । त्यसअघि गत जेठ २५ गते पनि अमेरिकाले ३७ जनालाई नै डिपोर्ट गरी नेपाल पठाएको थियो ।