
घोराही, १३ जेष्ठ ।
कपुरकोट गाउँपालिकाको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटल प्रा।लि। को प्राविधिक सहयोगमा यही जेठ १७ गते शनिबार कपुरकोट आधारभूत अस्पताल, कपुरकोट–३ घनवाङ सल्यानमा एकीकृत बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार शिविरबाट कपुरकोट क्षेत्रका सर्वसाधारण नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिनेछ। शिविरमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ। शिविरमा टाउको, पेट, छाती, मुटु, कलेजो, सुगर, प्रेसर तथा मिर्गौलासम्बन्धी समस्याको उपचार गरिनेछ। साथै पुरानो घाउ खटिरा, पिनास, बाजा वा गन्य थाहा नपाउने, नाकमा मासु पलाएको, कान दुख्ने, घाँटीको समस्या, थाइराइडलगायतका रोगको परीक्षण तथा उपचार पनि गरिने बताइएको छ।
त्यसैगरी हाडजोर्नी तथा नशासम्बन्धी रोग, हातखुट्टा झमझमाउने, युरिक एसिड, बाथ रोगलगायतका समस्याको उपचार सेवा उपलब्ध हुनेछ। परिवार नियोजनसम्बन्धी जाँच तथा परामर्श, महिला तथा स्त्री रोगसम्बन्धी सेवा, महिलाको तल्लो पेट दुख्ने, महिनावारी गडबडी तथा अत्यधिक रक्तश्रावसम्बन्धी समस्या, महिलामा देखिने बाँझोपन तथा गर्भपतनसम्बन्धी समस्याको पनि विशेषज्ञ चिकित्सकबाट परीक्षण गरिनेछ। शिविरमा निःशुल्क औषधि वितरण, प्रयोगशाला परीक्षण तथा एक्स–रे सेवा समेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
शिविरमा जनरल फिजिसियन डा। बाचस्पति सुवेदी, जनरल सर्जन डा। रविन आचार्य, बाल रोग विशेषज्ञ डा। सन्दिप पोख्रेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। दुर्गा बेल्बासे, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। गोमा रिमाल, रेडियोलोजिस्ट डा जिसन ध्वज के।सी।, नाक, कान, घाँटी विशेषज्ञ डा बिप्लव रिमाल तथा कपुरकोट आधारभूत अस्पतालका मेडिकल अधिकृत डा। पारस शर्मालगायतको सहभागिता रहनेछ। गाउँपालिकाले शिविरको अवसर उपयोग गर्दै स्वास्थ्य परीक्षण गराउन सम्पूर्ण कपुरकोटवासीलाई उपस्थित हुन अनुरोध गरेको छ। शिविरसम्बन्धी थप जानकारीका लागि प्रशासन प्रमुख देवेन्द्र सेन तथा मेडिकल अधिकृत डा। पारस शर्मासँग सम्पर्क गर्न सकिने जनाइएको छ।



लाइभदाङ । १३ जेष्ठ २०८३, बुधबार २०:१७ बजे