आरम्भ चौतारी लघुवित्तद्वारा वित्तीय साक्षरता तथा व्यावसायिक तरकारी खेती तालिम सम्पन्न

दाङ, २५ मंसिर ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गोग्लीले संस्थामा आवद्ध सदस्यहरूका लागि एक दिने वित्तीय साक्षरता तथा व्यावसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ। तालिम स्टेशन कार्यालय हेकुलीका अनुगमन अधिकृतको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा कुमारी डी.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तालिम उद्घाटन गर्दै उपमेयर डी.सी.ले सदस्यहरूको आयस्तर वृद्धि तथा सीप विकासका लागि लघुवित्तले सञ्चालन गरेको तालिमको प्रशंसा गर्दै सिकाइलाई व्यवहारमा रूपान्तरण गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

सो अवसरमा घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष मधुसूदन शर्मा ले तालिम अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आत्मनिर्भर बन्न सीपलाई व्यवहारमा लागू गर्न सुझाव दिनुभयो। त्यस्तै, वडा नं. १५ की समाजसेवी तथा जेटिए सरस्वती सुबेदी ले प्रशिक्षणमार्फत महिलाहरु आत्मनिर्भर बन्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो।


नेपाल पत्रकार महासंघ घोराही तथा कारोबार दैनिकका प्रशोता अमरराज आचार्यले आर्थिक सशक्तिकरण र आत्मनिर्भर बनाउन लघुउद्यमलाई महत्वपूर्ण भन्दै सहभागीहरूलाई नियमित रूपमा उद्यमशीलतामा सक्रिय हुन प्रेरित गर्नुभयो।

तालिममा प्रशिक्षकको भूमिकामा घोराही कृषि शाखाका कृषि अधिकृत हुमलाल न्यौपाने तथा प्राविधिक सहायक गोबिन्द सुबेदी रहनुभएको थियो। तालिममा कुल ६६ जना सदस्य ले सहभागिता जनाएका थिए।

कार्यक्रममा गोग्ली शाखाका कर्मचारी रेखा शर्मा पोखरेल र भवानी पुनले स्वागत तथा उद्देश्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शाखा प्रमुख ज्योति पौडेलले गर्नुभएको थियो।