सिपी नेपालद्वारा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

तुल बहादुर कवँर मगर
सिसहनियाँ, २४ मंसिर।
क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले राप्ती गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। गाउँपालिकाको समन्वयमा वडा नं.५ भुल्केमा बुधबार आयोजित कार्यक्रममा करिब २ लाख ५३ हजार ४ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो।

विद्यार्थीहरुलाई ज्याकेट, विद्यालय पोसाक, होम ड्रेस, झोला, चप्पल, कपी, कलम, पेन्सिल, कटर, इरेजर, ज्यामिति बक्स, क्यालकुलेटरलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको संस्थाकी विद्यार्थी संयोजक दिपा चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार विपन्न विद्यार्थीहरलाई अध्ययन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सो सामग्री वितरण गरिएको हो।


वि.सं. २०६४ सालमा दाङको गढवा गाउँपालिकामा संस्थाले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल दाङको राप्ती,गढवा र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको सो संस्थाले आवश्यकताको आधारमा विद्यालय भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी महिला सशक्तीकरण संयोजक सरिता चौधरीले जानकारी दिनुभयो।