अनुमति विना विश्वविद्यालयको जग्गामा गौशालाः म्याद नाघेपनि छोड्दैनन जग्गा, साढे ५६ लाख भाडा तिर्न बाँकी

दीपक बोहरा
दाङ, २४ मंसिर ।
नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डी स्थित जग्गा तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले २०७१ साउन १ गतेदेखि भाडामा लिए । बाख्रा पालनकालागि भनेर ३३ विघा ३१ कठ्ठा भन्दा बढि जग्गा १० वर्षकालागि भाडामा सम्झौता भयो । त्यो जग्गामा ३/४ बर्षजति उनले बाख्रा पनि पालन गरे । त्यसपछि उनले बाख्रा पालन गर्न छोडेर योगी आदित्यनाथ फाउन्डेशनलाई दिए । त्यो फाउन्डेशनले गौशाला निर्माण ग¥यो ।

अहिले त्यो जग्गा गौशालाले प्रयोग गरिरहेको छ । तर, त्यो जग्गाको भाडा सम्झौता ०८१ असार ३० सकिएको छ । सम्झौताको म्याद गुज्रेको एक वर्ष भइसक्दा पनि त्यहाँबाट न त गौशाला हटेको छ, न त त्यसको सम्झौता बमोजिमको भाडा नै विश्वविद्यालयले प्राप्त गरेको । सम्झौताको मितिसम्मको मात्रै ५६ लाख ६५ हजार भाडा तिर्न बाँकी छ । त्यसयता सम्झौता सकिएपछि भाडा लिइएको छैन । सम्झौता भएअनुसार मात्रै भाडा लिन मिल्ने र सम्झौता भन्दा पछिको भाडा नमिल्ने भएकाले भाडा पनि लिइएको छैन । “सम्झौतासम्मको मात्रै भाडा लिन मिल्छ, तर, अहिलेसम्म पनि प्रयोग भइरहेको छ, सम्झौताको मिति सकिएकै एक वर्ष भइसकेको छ”,विश्विद्यालय स्रोतले भन्यो“पछिल्लो एक बर्षको त हिसाब नै भएको छैन ।” डाँगीसंगै वार्षिक पाँच लाख ४४ हजार रुपैँया भाडा रकम दिने सम्झौता भएको थियो । त्यो भाडामा बार्षिक १० प्रतिशत बृद्धि गर्ने सम्झौता भएको थियो । त्यो कार्यमा विश्वविद्यालयकै कर्मचारी समेत जोडिएको स्रोतले बताएको छ ।

‘गौशालाबाट धम्की सहनु पर्छ’
गौशालाका सञ्चालकबाट पटक–पटक विश्वविद्यालयका उपकुलपतिलाई समेत धम्की आउने गर्छ । कहिल्यै विश्वविद्यालयका उपकुलपतिको आवासकै गेट खोलेर भित्र गाई हालिदिने गरिन्छ । वरिपरि मरेका गाइको गन्धले बस्नै नसक्ने अवस्था हुन्छ । यसलाई नियन्त्रण गर्न भनि सम्बन्धितलाई भन्दा उल्टै धम्की आउने गरेको उपकुलपति धनेश्वर नेपालले बताए । ब्यक्तिगत रिसिइवी समेत हुने स्थित रहेको उनले बताए । दाङका दुई वटा उपमहानगरपालिकाले यो गौशालालाई सहयोग गरेको भन्दै आपत्ति समेत जनाए ।“अनुमति छैन, आफूखुसी गौशाला सञ्चालन भएको छ”,उनले भने“ नगरपालिकाको सहयोग लिएर हामीमाथि बाघ बनेको अबस्था छ ।” आफूमाथि पटक–पटक अपशब्द बोल्ने गरेका समेत उनको भनाई छ । सम्झौता तोड्ने भनि पटक–पटक बैठक बोलाउँदा पनि नआएको समेत उनको भनाई छ ।“हामीले ठेक्का तोड्ने भनि पटक–पटक बोलायौं, २०÷२१ पटक बोलाउँदा पनि आउनु भएन”,उनले भने“ उल्टै हामीमाथि अपशब्द बोल्ने कार्य भएको छ, गाइको संरक्षण गर्ने मान्छेले कसरी मान्छेप्रति अपमान गर्छ ?”


यसरी अटेर गरे कानुनी कारवाही अगाडी बढाउनु पर्ने उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । उनका अनुसार लिजमा लिने तर पैसा नदिने प्रबृति गलत भएको समेत उनले बताए । गौशाला सञ्चालनकालागि उपमहानगरपालिकाले बेलझुण्डी छनौट नगरेको भएपनि जबरजस्ती गौशाला निर्माण गरेको समेत उनले बताए । यद्यपी गाई ब्यबस्थापन गर्ने कार्य उपमहानगरपालिकाको पनि जिम्मेवारी भएकाले पटक–पटक आर्थिक सहयोग गरेको समेत बताए ।“म निर्वाचित भएर आएको पहिलो वर्ष १२ लाख, दोस्रो बर्ष ७ लाख सहयोग गरियो”,उनले भने“कर्मचारीको तलब खुवाउन पर्ने भन्दै पटक–पटक उपमहानगरपालिकामा धम्काउँदै बजेट माग्ने गर्नुभएको छ ।”

करोड लगानी भएको छ, त्यो पैसा दिए हस्तान्तरण गरिदिन्छुः भरतनाथ योगी
उक्त गौशाला सञ्चालन गर्दा एक करोड भन्दा बढि लगानी भएको भन्दै त्यो लगानी दिएमा उपमहानगरपालिकालाई हस्तान्तरण गरिदिने गौशालाका सञ्चालक भरतनाथ योगीले बताए । यो विषयमा आफूले प्रमुख जिल्ला अधिकारीसंग पनि कुरा गरिसकेको बताएका छन् ।“मलाई अहिलेसम्म भाडा चाहियो भनेर कसैले भनेको छैन, एक महिना पछि म आफै छाड्ने तयारीमा छु, यो विषयमा सिडियोसा’पसंग पनि कुरा गरिसकेको छु”,उनले भने“नगरपालिकासंग पनि कुरा भएको छ, एक करोड जति लगानी भएको छ, त्यो लगानी दिने वित्तिकै नगरपालिकालाई दिइहाल्छु ।”

गाई संरक्षण गर्ने कुरा पबित्र उद्देश्यले नै सुरु गरिएको भएपनि यसलाई सञ्चालन गर्न निकै चुनौति रहेको उनको भनाई छ । अहिले भिक मागेर गौशाला चलाउनु परेको उनको भनाई छ ।“भिक मागि–मागि चलाउन पनि निकै गाह्रो भएको छ”,उनले भने“राज्यले गर्ने काम मैले गर्छु भन्न खोजेको, नसकिने रहेछ ।” अहिले गौशालामा काम गर्नकालागि ७ जना कर्मचारी राखेको समेत उनले बताए । अहिले त्यहाँ करिब तीनसय गाई छन् । साभार : अग्रिम साप्ताहिक