
तुलबहादुर कवँर मगर
सिसहनियाँ,२४ मंसिर ।
राप्ती गाउँपालिका–९ रुपाकोटमा जलवायु अनुकूल सिँचाइ योजना निर्माणका लागि मंगलबार स्थलगत अवलोकन गरिएको छ। पहाडी बस्तीमा सिँचाइका लागि पर्याप्त पानीको स्रोत नहुँदा आकासे पानी संकलन गरेर कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पोखरी निर्माणको प्रक्रिया अघि बढाइएको हो।
राप्ती गाउँपालिकाको समन्वयमा, गुड नेवर्स इन्टरनेशनल नेपाल र यु एन ह्याबिटाटको आर्थिक सहयोगमा, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी) को भूमि तथा कृषि कार्यक्रम अन्तर्गत सञ्चालित ‘जलवायु मैत्री कृषि कार्यक्रम’ मार्फत रुपाकोटमा दुई वटा सञ्चित पोखरी निर्माणको तयारी गरिएको छ। पोखरी निर्माण सम्पन्न भएपछि सो क्षेत्रका ३० घरधुरीका करिब ५५ बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने अनुमान गरिएको छ।
सिँचाइ व्यवस्थापनसँगै स्थानीय बासिन्दाले तरकारी खेती, फलफूल तथा अन्नबाली उत्पादन विस्तार गर्न सक्ने भएकाले खाद्य सुरक्षा, आयआर्जन र कृषि आत्मनिर्भरता थप मजबुत हुने अपेक्षा छ।
स्थलगत अवलोकन तथा अनुगमनमा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका रेमन्त चौधरी, निलम त्रिपाठीलगायत प्राविधिक तथा स्थानीयहरूको सहभागिता थियो।



लाइभदाङ । २५ मंसिर २०८२, बुधबार ११:४९ बजे