सदुपयोगलाई अवसरमा लिन महिला उद्यमीलाई कार्यबाहक नगर प्रमुख योगीको आग्रह

लमही, ४ बैशाख / लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले अवसरलाई सदुपयोग गर्न महिला उद्यमीलाई आग्रह गर्नु भएको छ । सीपलाई आर्थिकसंग जोडेर मनग्य आर्थिक लाभ लिन सकिन्छ, अब हरेक घरका महिलाहरुले सीपलाई व्यवसायीक रुपमा अगाडी बढाएर लैजानु पर्छ”- योगीले भन्नू भयो ।

घरमा सबै परिवार आय आर्जनसंग जोडिएपछी घर व्यवहारको काम टार्न सहज हुने भएकोले सीपलाई सामान्य तरिकाले नलिन पनि महिला उद्यमीलाई अनुरोध गर्नु भएको छ ।

त्यसैगरी लमही नगरपालिका -७ का वडा सदस्य उर्मिला चौधरीले वडा नबर ७ का महिला दिदिबहिनीहरु उद्यमी बन्दै गएको भन्दै खुशी व्यक्त गर्नु भयो । सीपले मानिसलाई व्यस्त गराउने, मानसिक तनाबबाट मुक्त हुने जस्ता फाइदा समेत पुग्ने गरेको बताउनुभयो ।


गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) मार्फत दुई महिने हाते होजियारी (सुइटर बुनाई) सम्बन्धि सीप विकास तालिमको उद्घाटन गर्दै कार्यबाहक नगर प्रमुख योगीले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा सहभागी सरिता भट्टराईले स्वागत गर्नु भएको थियो भने रिता पुनले सहजीकरण गर्नु भएको थियो । २८ जना महिला उद्यमीहरुको सहभागिता रहेको छ । यो तालीम दुई महिनासम्म संचालन हुने छ । तालिमको प्रशिक्षकमा सीता चौधरी रहनु भएको छ ।