
तुलसीपुर, २२ मंसिर ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आगामी पुस ४ गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागेको प्रथम तुलसीपुर महोत्सव २०८२ को तयारीलाई तीव्र बनाएको छ। तयारीका क्रममा महासंघले बसपार्क नजिकै रहेको तरकारी बजार (हाटबजार स्थल) मा किसान(व्यापारी) तथा ग्राहकसँग प्रत्यक्ष सुझाव सङ्कलन कार्यक्रम सम्पन्न गरेको छ ।
सुझाव संकलनका क्रममा तरकारी बजारमा कारोबार गर्ने किसान तथा किनमेलका लागि आउने ग्राहकहरूले शौचालय, खानेपानी र बत्तीको अभाव प्रमुख समस्या रहेको बताएका छन । सार्वजनिक शौचालय नहुँदा व्यापारी तथा ग्राहकहरू पातुखोला किनारमा शौच गर्न बाध्य हुने गरेको उनीहरुको भनाइ छ । त्यस क्षेत्रमा फोहोर व्यवस्थापनसमेत कमजोर रहेको भन्दै प्रभावकारी कदम चाल्नुपर्ने सुझाव पनि उनीहरुले दिएका छन ।
घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले महोत्सवमार्फत स्थानीय व्यापारी र उत्पादनको प्रवर्द्धनसँगै हाटबजार क्षेत्रमा देखिएका पूर्वाधार समस्या समाधान गर्ने बताउनुभयो । महोत्सवको मुख्य उद्देश्य स्थानीय घरेलु तथा साना व्यवसायलाई प्रोत्साहन गर्नु र तरकारी हाटबजार क्षेत्रमा शौचालय, खानेपानी, सरसफाइ, पार्किङ लगायतका पूर्वाधार सुविधालाई व्यवस्थित बनाउनु रहेकोले महोत्सवलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको अध्यक्ष केसीले बताउनुभयो ।
महोत्सवमा आकर्षक बाल उद्यान, रोटे पिङ आदि, स्थानीय जातजातिहरूको फुड फेस्टिवल, स्थानीय उत्पादनको प्रदर्शनी, औद्योगिक व्यापार, हस्तकला प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी तथा लोकनृत्य प्रतियोगिता, जातीय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकी, अटो मोवाइल्स, सूचना प्रविधिहरूको प्रदर्शनी, लण्डन ब्रिज, जलपरी प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाबारे जानकारी, स्टार्टअप सम्मेलन हुने छन ।
महोत्सव तुलसीपुर-६ घोराही रोड, दाङ ॐ शान्ति सिनेमा हलको पूर्वतर्फ खुल्ला मैदानमा लाग्ने छ ।



लाइभदाङ । २३ मंसिर २०८२, सोमबार २१:०५ बजे