नेपाली कम्युनिष्ट पार्टी लमही नगर कमिटीद्वारा स्वर्गीय लुमा पण्डितको सम्झनामा श्रद्धाञ्जली सभा

तुलबहादुर कवँर मगर
लमही, २२ मंसिर।
नेपाली कम्युनिष्ट पार्टी लमही नगर कमिटीले पार्टीका नेता बसन्तराज शर्मा ‘बिक्रान्त’की ठूली आमा स्वर्गीय लुमा पण्डितको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। कार्यक्रम सोमबार लमही नगरपालिका–३ उज्यालो गाउँस्थित उहाँकै निवासमा आयोजना गरिएको हो।

श्रद्धाञ्जली कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले स्वर्गीय पण्डितलाई आदर्श, त्यागी र संघर्षशील व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँको जीवनचर्या अनेक दृष्टिले प्रेरणादायी रहेको बताउनुभयो। जनयुद्धको क्रममा आफ्ना दुई सन्तान गुमाउँदासमेत जनताको पक्षमा दृढ रहनु पण्डित परिवारको असिम साहस भएको थारुको भनाइ थियो।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यले स्वर्गीय पण्डितको सरल जीवनशैली, समर्पण र योगदानले धेरैलाई मार्गनिर्देशन गरेको उल्लेख गर्नुभयो। स्वर्गीय पण्डितका कान्छा देवर लालमणी पण्डितले उहाँको जीवनसंघर्ष, परिवारप्रतिको समर्पण र सामाजिक उत्तरदायित्वलाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो।


कार्यक्रम लमही नगर कमिटी अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वर्गीय पण्डितका छोरा बसन्तराज शर्माले कार्यक्रममा उपस्थित सबै अतिथि, नेता तथा आफन्तजनप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण नगर कमिटीका सचिव कृष्ण घिमिरेले गर्नुभएको थियो।

दिर्घ रोगबाट पीडित स्वर्गीय लुमा पण्डितको मंसिर १० गते ७२ वर्षको उमेरमा निधन भएको थियो। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा आफन्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।