भोटेकोशी बाढीपीडितलाई सिरिचौर खानेपानीको १ लाख ५५ हजार सहयोग

तुल बहादुर कवँर मगर
मसुरिया,१३ भदौ ।
दाङको राप्ती गाउँपालिका–३ स्थित सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि १ लाख ५५ हजार १ सय ३० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

उपभोक्ता समितिका अध्यक्ष तुला गिरीका अनुसार आफ्ना १ हजार ३०० घरधुरी उपभोक्ताबाट प्रतिघर १०५ रुपैयाँका दरले १ लाख ३६ हजार ५०० रुपैयाँ संकलन गरिनेछ।

यस्तै,वर्तमान र निवर्तमान पदाधिकारी, सल्लाहकार तथा कर्मचारीबाट स्वेच्छिक रूपमा प्राप्त १८ हजार ६३० रुपैयाँ समेत थप गरी कुल १ लाख ५५ हजार १ सय ३० रुपैयाँ सहयोग गर्न लागिएको हो।


विपद्को समयमा बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उपभोक्ताहरूबाट रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरिएको समितिले जनाएको छ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था, स्थानीय तह तथा नागरिकस्तरबाट सहयोग जुटाउने क्रम जारी छ।