दाङका सबै क्षेत्रमा गठबन्धन हावी

दाङ,७ मंसिर ।
दाङका सबै क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनले अग्रता कायम राखेको छ । दाङका ३ वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभामा अग्रता कायम राखेको हो ।

दाङ–१ : मेटमणीले मतान्तर बढाउँदै
दाङ क्षेत्र नं. १ को प्रतिनिधिसभामा गठबन्धनका मेटमणी चौधरीले मतान्तर बढाएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका शान्ता चौधरीलाई १ हजार ७ सय ३५ मतले पछि पारेका छन् । १४ हजार चारसय १९ मत गन्दा एकीकृत समाजवादीका चौधरीले ५ हजार ५ सय ३५ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले ३ हजार ८ सय मत ल्याएकी छन् । मेटमणी सुरुवात देखि नै अग्रस्थानमा छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ३ हजार ५२ मत ल्याएका छन्, भने नागरिक उन्मुक्ती पार्टीका सुरेन्द्र चौधरीले १ हजार ९३ मत ल्याएको निर्वाचन अधिकृत मानबहादुर विष्टले बताए । क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७ सय ३३ मतदाता मध्ये ८० हजार ७ सय मत खसेको थियो । क्षेत्र नं. १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।

इन्द्रजितको अग्रता कायम
दाङको क्षेत्र नं.१ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजित चौधरीले अग्रता कायम राखेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका गंगाराम भट्टराईलाई ३ सय ४४ मतान्तरले पछि पारेका छन् । १४ हजार ४ सय १९ मत गन्दा चौधरीले ४ हजार ७ सय ५७ मत ल्याएका छन्, भने भट्टराइले ४ हजार ४ सय १३ मत ल्याएका छन् । त्यस्तै नागरिक उन्मुक्ती पार्टीका रञ्जित चौधरीले १ हजार ८ सय ३८ मत ल्याएका छन् ।

अनुरागको अग्रता कायमै
दाङको क्षेत्र नं.१ को प्रदेशसभा २ मा पनि गठबन्धनका उम्मेदवार काँग्रेस युवा नेता अनुराग खड्काले अग्रता कायम गरेका छन् । १४ हजार ३ सय ६१ मत गणना हुँदा खड्काले ५ हजार ७ सय ६६ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी एमालेका कुलबहादुर केसीले ५ हजार ६ सय १२ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर १५४ रहेको छ ।

दाङ–२ : रेखाको अग्रता कायमै, मतान्तर घटाउँदै शंकर
दाङ क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले आफ्नो अग्रता कायम राखेकी छन् । ३५ हजार हजार ६ सय ३० मत गणना हुँदा रेखाले १३ हजार २ सय ४ मत प्राप्त गरेकी छन्, भने एमाले महासचिब शंकर पोखरेलले ११ हजार ५ सय ८० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर एक हजार ६ सय १६ रहेको छ ।

यस अघि रेखाले १ हजार ९ सय १२ मतसम्म अग्रता लिएकी थिइन् । २६ हजार ४ सय २१ मत गन्दा रेखाले लिएको त्यो अग्रता, ३२ हजार ६ सय ३० मत गन्दा एक हजार ७ सय तीनमा झरेको थियो । पछिल्लो मतपरिणाम अनुसार उनीहरुबीचको मतान्तर १ हजार ६ सय १६ भएको छ ।


रेखाले सुरुवातदेखि नै अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो । क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।

दाङ २(१) मा खनाल अगाडी
दाङ क्षेत्र नं. २ को प्रदेसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडी छन् । खनाल निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणा भन्दा एकहजार ८ सय ४५ मतले अघि छन् । खनालले १२ हजार ९ सय ७१ मत प्राप्त गरेका छन्, भने राणाले ११ हजार १ सय २६ मत प्राप्त गरेका छन् ।

त्यस्तै दाङ क्षेत्र नं. २(२)मा पनि गठबन्धनका उम्मेदवार अघि छन् । गठबन्धनका उम्मेदवार काँग्रेसका प्रचण्ड विक्रम न्यौपानेले ५ हजार ८ सय २७ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी एमालेका गिरीराज केसीले ५ हजार ३ सय ६७ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ४ सय ६० रहेको छ ।

दाङ–३ः दीपकले कोमलसगंगको मतान्तर फराकिलो बनाउँदै
दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरी प्रतिस्पर्धी एमालेका कोमल वली भन्दा १ हजार ७ सय ८३ मतले अघि छन् । गिरीले ८ हजार चारसय ३५ मत प्राप्त गरेका छन्, भने वलीले ६ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् । अहिलेसम्म २० हजार ४ सय ४८ मत गणना भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।

क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता मध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं. ३ को भू–तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ ।

डिल्ली चौधरी अगाडी
दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ मा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरीले आफ्ना प्रतिस्पर्धी एमालेका घनश्याम पाण्डेलाई २ हजार ७ सय १ मतले पछि पारेका छन् । चौधरीले १० हजार ८ सय ३ मत प्राप्त गरेका छन्, भने पाण्डेले ८ हजार १ सय २ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा अहिलेसम्म २२ हजार ३ सय ४९ मत गणना भएको छ । यो क्षेत्रमा ६६ हजार ४ सय ८६ मतदातामध्ये ४० हजार ५ सय ७० मत खसेको थियो ।

मास्कीको अग्रता कायम
दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश)ले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । २७ हजार ३१ मत गन्दा माओवादी केन्द्रका मास्कीले ११ हजार ९ सय १६ र एमालेका हुकुम बस्नेतले १० हजार ९ सय ३४ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ९ सय ८२ रहेको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।