गढवामा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास तालिम सम्पन्न

आलोक भावुक
गढवा, १२ मंसिर ।
अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको क्षमता अभिवृद्धि गर्न उद्देश्य राखी सञ्चालन गरिएको दुई दिने क्षमता विकास तालिम शुक्रबार गढवा गाउँपालिकामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आयोजनामा तथा फेयरमेड फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

दुई दिनसम्म सम्पन्न भएको तालिम गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा अघि बढाइएको थियो। तालिमका प्रशिक्षक चिन्तामणी पौडेलले संस्थाको प्रभावकारी नेतृत्व, व्यवस्थापन, प्रतिवेदन लेखन, अधिकार–दायित्व र समुदायसँग समन्वयमा कसरी सशक्त रूपमा काम गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो।

समापन कार्यक्रममा बोल्दै ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा “अपाङ्गता भएका व्यक्तिहरू सक्षम, सक्रिय र समाजका महत्वपूर्ण आधार भएको बताउदै उहांहरूको क्षमता विकास गर्न गाउँपालिका निरन्तर साथमा रहन्छ। तालिमबाट सिकिएका सीप र ज्ञानले उहांहरूको संस्था अझ व्यवस्थित र सबल बन्ने विश्वास लिएको छु।” भन्नु भयो।


त्यसैगरी कार्यक्रममा बोल्दै प्रशिक्षक चिन्तामणी पौडेलले “सहभागीहरूको उत्साह, सिक्ने चाहना र सक्रियता अत्यन्त सकारात्मक रहेको बताउदै प्रभावकारी संस्थागत कार्यसम्पादनका लागि आवश्यक आधारभूत सीपहरू व्यावहारिक रूपमा सिकाएको, जसको प्रत्यक्ष प्रभाव संस्थाको काममा देखिदै जाने बताउनुभयो।

तालिममा गढवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनय कुमार यादव, अपाङ्गता संरक्षण समाज गढवाका अध्यक्ष भरत कुमार पन्त, प्रेरणा परियोजनाका टेक्निकल अफिसर मनिषा सापकोटा, सामाजिक सहजकर्ता अमित यादव लगायतको उपस्थिति रहेको थियो । तालिममा अपाङ्गता संरक्षण समाजका ११ जना पदाधिकारहरुको सहभागीता रहेको थियो।

सहभागी तिलकला बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।