
दीपक बोहरा
दाङ, ३ मंसिर ।
जग्गा विवादको डरले दाङको घोराही–तुलसीपुर चारलेनको काम गुर्जे खोलादेखि सुरु भएको छ । रतनपुर क्षेत्रमा जग्गा एकातिर च्यापिएको भन्ने विवाद रहेकाले गुर्जेखोलादेखि सुरु गरेको श्री दिवा–बन्दना भगवती जेभिका कन्ट्रयाक्ट म्यानेजर सुनिल ढुंगानाले बताए । “घोराही क्षेत्रको रतनपुर आसपासमा जग्गा एकातिर च्यापिएको भन्ने छ”,उनले भने“त्यसैले सुरुमा किन विवादमा फस्ने भनेर हामीले गुर्जेखोलादेखि काम सुरु गरेका हौं ।”
घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चारलेन बनाइने गरि सम्झौता भएपनि पहिलो चरणमा गुर्जखोलादेखि काम सुरु भएको हो । सोमबारदेखि काम सुरु भएको हो । सुरुमा दुई वटा जेसीबीले काम सुरु गरेको भएपनि केही दिनमा ५/७ वटा डोजरले काम गर्नेछन्, भने अबको एक हप्तापछि आवश्यकता अनुसार मजदुर समेत थपेर काम अघि बढाउने तयारी छ । जति सक्यो छिटो काम सक्ने गरि अगाडी बढेको उनले बताए ।“सम्झौता मिति भन्दा अघि सक्ने हाम्रो लक्ष्य छ”,उनले भने“त्यो अनुसार हामीले काम अघि बढाएका छौं ।” अहिले माटो ‘फिलिङ्ग’ गर्ने र झाडी फाल्ने कार्य भइरहेको छ । माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम हुनेछ ।
उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्रे हुनेछ, भने चौडाइ चार लेनको हुनेछ । बीचमा बीचमा मेडिएन र दुबैतर्फ २/२ लेनको हुने उनले बताए । जसमा बजार क्षेत्रमा फुटपाथ सहितको चारलेन हुनेछ, भने अन्य स्थानमा चारलेन मात्रै हुनेछ ।
सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रेको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । चारलेनकै कामको सहजताकालागि सडक खण्डकै बेलझुण्डी रंगशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गर्ने, पानीका लागि डिप बोरिङ खन्ने र त्यहीँ साइड अफिस खोल्ने कामसमेत भइसकेको उनले बताए ।
सडक सुधार आयोजना अन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजना अन्तर्गत ठेक्का सम्झौता भएको थियो । तर, निर्माणको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ ।
सोही सडकको चौडाई ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रबिधिबाट कालोपत्रे हुनेछ । जसमा ढुंगा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्ने गरि सम्झौता भएको सडक डिभिजन कार्याल दाङका प्रमुख दिपेन्द बहादुर विष्टले बताए । गएको २४ असारमा श्री दिवा–बन्दन भगवति जेभीसंग सम्झौता भएको हो । भ्याट बाहेक २ अर्व २४ करोड ५६ लाखमा उक्त सडक चारलेनको काम हुन लागेको हुन् ।
सोही सडक चारलेन बनाउनकालागि यस अघिको निर्माण कम्पनीले कम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालिन अबस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयानुसार ३ करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोही अनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणकालागि प्रक्रिया अघि बढिसकेको छ ।



लाइभदाङ । ४ मंसिर २०८२, बुधबार २०:५८ बजे