सातवटै प्रदेशमा सन्देश सभा गर्ने नेकपाको निर्णय

काठमाडौं, १ मंसिर ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सातवटै प्रदेश, सबै जिल्ला र पालिकामा सन्देश सभा गर्ने भएको छ । पार्टी एकताको सन्देश दिने गरी एकता सभा गर्ने निर्णय भएको हो । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको साबिक पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले मंसिरमा सन्देश सभा गर्ने निर्णय गरेको हो ।

एक शीर्ष नेताका अनुसार ९ मंसिरदेखि सन्देश सभा गर्ने तयारी छ । ९ मंसिरमा सुदूरपश्चिम, १० मा कर्णाली, ११ मा लुम्बिनी, १२ मा गण्डकी, १३ मा मधेश, १४ मंसिरमा कोशीमा एकता सन्देश सभा गर्ने तयारी छ । बागमतीको भने मिति तोकिन बाँकी छ । जिल्लास्तरीय एकता सन्देश सभा भने बागमती प्रदेशका जिल्लामा १३ मंसिर, सुदूरपश्चिमका जिल्लामा १५ गते, कर्णालीका जिल्लामा १६ गते, लुम्बिनीका जिल्लामा १७ गते, गण्डकीका जिल्लामा १८ गते, मधेशका जिल्लामा १९ गते र कोशीका जिल्लामा २० मंसिरमा गर्ने तयारी छ । देशभरिका पालिकामा २७ मंसिरमा एकै दिन सन्देश सभा गर्ने तयारी छ ।


गत १९ मंसिरमा १० वाम मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो । पार्टीमा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान पनि जोडिएको छ । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेको छ । बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले वाम–समाजवादी शक्तिलाई एकीकृत गर्दै समाजवाद निर्माणमा जाने बताएका छन् । ‘वाम–समाजवादी शक्तिलाई एकीकृत गर्दै देशको सदस्य हल गरेर समाजवाद निर्माणमा जाँदै छौँ । अरू धेरै समूहसँग एकता हुँदै छ,’ उनले भने ।