
दिपक बोहरा
दाङ, १ मंसिर ।
कोही डाक्टर, कोही इन्जिनियर त कोही अडिटर बन्ने सपना बोकेका विद्यार्थीहरू, आईतबार भने साहित्यमा घोत्लिदै थिए । दाङ स्थित गोरखा मावि तुलसीपुरमा अध्ययनरत विद्यार्थीहरुले आफूले लेखेका कथाहरू बाचन गरेका थिए । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले कथा लेख्नमात्रै सिकेनन्, बाचन गर्न पनि सिके । विद्यालयमा भएको तीन दिने कथा लेखन कार्यशालामा सहभागी भएपछि विद्यार्थीहरू कथा लेख्न र बाचन गर्न पोख्त भएका छन् । त्यति मात्रै होईन्, विद्यार्थीले कथा केहो भन्ने पनि बुझेका छन् । “कथा शब्द जोड्ने कुरा मात्रै रहेनछ”, कक्षा ९ मा अध्ययनरत छात्रा काब्या केसीले भनिन् “कथाले त भावना बोल्दो रहेछ ।” दिमागले बोल्ने नभई मन बोल्ने कुरा नै कथा रहेको उनले बताईन् ।
यसरी साहित्य लेख्दा विद्यार्थीहरुमा सिर्जनशिलता पनि बढ्ने गरेको कक्षा १२ का विद्यार्थी विशाल योगीले बताए । अन्य समयमा अगाडी गएर बोल्न पनि डराउने, शिक्षकले केही सोध्दा पनि डराउने अवस्था रहेकोमा कथा लेख्न सिकेपछि अगाडी गएर निर्धक्क बोल्न सकेको उनको अनुभव छ ।“कक्षामा अगाडी गएर बोल्न पनि डराउथेँ, शिक्षकले सोध्दा जानेको कुरा पनि भन्न डर लाग्थ्यो”,उनले भने “अहिले म निर्धक्क भएर अगाडी गएर बोल्न सक्ने भएको छु ।” उनीहरू मात्रै होईन्, कथा लेखन कार्यमा सहभागि भएका सबै विद्यार्थीहरुले यसरी अगाडी गएर बोल्न सक्ने भएका छन् । विद्यार्थीहरुले आफूले विभिन्न विषयवस्तु समेटिएका कथाहरु समेत लेखेका थिए । ति कथाहरू पालैपालो कक्षामा सुनाएका थिए । कथा वस्तुहरू गाउँ समाजमा देखिएका विकृति, पारिवारिक परिवेशदेखि सकारात्मक कुराहरू समेत समेटिएका थिए ।
यसरी लेखिएका कथाहरुले समाजलाई रुपान्तरण गर्नुपर्ने समिक्षक खगेन्द्र काफ्लेले बताए । “साहित्यले समाज रुपान्तरण गरेका थुप्रै उदाहरण छन्”, उनले भने “यसरी लेखिने कथाहरुले समाजलाई रुपान्तरण गर्न भूमिका खेल्छ, भन्ने मैले विश्वास लिएको छु ।” कक्षामा नबोल्ने विद्यार्थीहरू पनि कथा लेखन सिकेपछि निर्धक्क भएर बोल्न सक्ने भएको समेत बताए । “म यीनै विद्यार्थीहरुलाई पढाउछु, मैले पढाउँदा र अहिले कथा बाचन गर्दा, यस्ता प्रतिभा भएका विद्यार्थीहरु मेरै कक्षामा थिए त?, भन्ने लाग्छ”,उनले भने “विद्यार्थीहरुको यस्तो प्रतिभा हामीले चिन्न सकेका रहेनछौं ।”
पछिल्लो समय विद्यार्थीहरुमा पठन संस्कृति हराउँदै गएको अवस्थामा यसरी साहित्य तर्फ विद्यार्थीहरुलाई जोड्न सकेमा पढ्ने कलामा बृद्धि हुने प्रशिक्षक विजयराज आचार्यको भनाई छ । “विद्यार्थीहरु पढ्दैनन्, सामाजिक सञ्जाल मात्रै हेर्छन, भन्नेछ” उनले भने “यसरी साहित्यमा जोड्न सकेमा विद्यार्थीहरुको पढ्ने बानीको विकास हुन्छ ।” अहिलेको पुस्ताका विद्यार्थीहरू शिक्षक भन्दा पनि अगाडी रहने गरेको भन्दै शिक्षकहरुले विद्यार्थीहरुको मनोविज्ञान अनुसार अध्यापन गराउनु पर्ने समेत बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले विद्यार्थीहरुमा पठन संस्कृतिको विकासकालागि साहित्यले ठूलो भूमिका खेल्ने बताए ।“ १५ सिकेन्डमा अड्डिएका यो जेनेरेशनलाई पठन संस्कृतिको विकास गर्न साहित्यले भूमिका खेल्छ”,उनले भने “किनकी साहित्य लेख्न पनि पढ्नु पर्छ ।”
त्यस्तै विद्यालयका प्रिन्सिपल विजयमान जीएमले विगतदेखि नै विद्यार्थीहरुलाई यसरी नै कथा लेख्न सिकाउने गरेको बताए । उनले विद्यार्थीरुले विगतदेखि नै कथा लेखिरहेको भन्दै ति कथाहरुलाई प्रकाशन गरेर आगामी बार्षिकोत्सवमा विमोचन गर्ने बताए । “विद्यार्थीहरुले विगतदेखि नै यस्ता कथाहारु लेख्दै आउनुभएको छ”,उनले भने “ति कथाहरुलाई हामीले संकलन गरेर प्रकाशन गर्नेछौं, आगामी विद्यालयको बार्षिकोत्सवमा विमोचन हुनेछ ।” जुनसुकै पेशा व्यवसायीमा रहेकाहरुले पनि साहित्य सिर्जना गर्न सक्ने समेत उनले बताए । साहित्य सिर्जना गर्नकालागि साहित्यकार नै हुनुपर्छ, भन्ने नहुँने उनको भनाई छ । २८ कात्तिकदेखि सुरु भएको तीन दिने कथालेखन कार्यशालाको आईतबार समापन गरिएको हो ।
कार्यशालाको समापन
आईतबार एक कार्यक्रम गरि कार्यशालाको समापन गरिएको हो । प्रिन्सिपल जीएमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि कार्यशालाको समापन गरिएको हो । कक्षा १२ का विद्यार्थी पूर्णिमा सुनारले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थी विपना बस्नेत र बर्षा खड्काले यस्ता काथाहरू नियमित लेखिरहने प्रतिबद्धता जनाएका थिए । त्यस्तै कक्षा १२ का विवेक वली, निशा आचार्य, कृतिका खड्का, सदिक्षा गौतम, सुबेच्क्षा विसी र प्रशान्त धितालले आफूले लेखेका कथा बाचन गरेका थिए, भने विशाल योगी,कमलेस चौधरी,काब्या केसीले अनुभव व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सुप्रिया सुवेदी र पुष्पा वलीले गरेका थिए ।



लाइभदाङ । २ मंसिर २०८२, सोमबार ०७:५३ बजे