दाङका सबै निर्वाचन क्षेत्रमा गठबन्धनले चुनाव जित्छ : पोलिटब्युरो सदस्य शर्मा

दाङ, २२ कात्तिक ।
नेकपा (माओवादी) केन्द्रका पोलिटब्युरो सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारले विजयी हासिल गर्ने बताउनुहुन्छ ।

संविधान र लोकतन्त्रको रक्षा गर्न तथा मुलुकको समृद्धिका लागि आम मतदाताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने उहाँको भनाई छ । आगामी निर्वाचन, गठबन्धन दलको अवस्था लगायतका विषयमा केन्द्रित भएर पत्रकार पाण्डव शर्माले शर्मासँग गरेको कुराकानिको सार:

निर्वाचन आउन करिब दुई हप्ता मात्रै बाँकी छ । निर्वाचनको माहोल कस्तो छ ?
देशव्यापी चुनावको माहोल निकै घहन ढंगले अघि बढिरहेको छ । दाङका तीन ओटै निर्वाचन क्षेत्र र त्यस अन्तर्गतका ६ ओटा प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धनको प्रचारप्रसार निकै राम्रो ढंगले अघि बढीरहेको छ । अहिले गठबन्धनको माहोल निकै राम्रो भएको छ । जिल्लाका सबै स्थानमा अहिले एमालेको भन्दा गठबन्धनको पक्षमा निकै धेरै जनलहर देखा परेको छ । हामी जिल्लाका सबै निर्वाचन क्षेत्रमा जितको नजिक पुगेका छौं ।

निर्वाचनमा तपाईहरुले घोषणपत्र लगेर जानुभएको छ । हुन त सबै कुरा घोषणापत्रमा उल्लेख छ । तर, बुँदागतरुपमा भन्दा तपाईहरुको एजेण्डा के हो ?
हाम्रो पहिलो एजेण्डा भनेको संविधान र लोकतन्त्रको रक्षा नै हो । हामीले घोषणापत्र मार्फत अहिलेको नेपाली समाजको अवाश्यकता र दीगो विकास कसरी गर्न सकिन्छ भनेर समग्रमा दस्ताबेज नै तयार गरेका छौं । मुख्य रुपमा हामीले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुराहरुलाई प्राथमिकतामा राखेका छौं । त्यसैगरी जनजिवीकाका साथै कृषि, पर्यटन, उद्योग, भौतिक पूर्वाधार लगायतका विषयमा हामीले घोषणा मार्फत हाम्रा योजनाहरु सार्वजनिक गरेका छौं । हामीले सुशासन र भ्रष्टाचारको अन्त्य गर्ने कुरालाई पनि निकै जोड दिएका छौं ।

आम मतदाताले गठबन्धनलाई नै जिताउनुपर्ने कारण के छ ?
नेपाली जनताले सबै राजनीतिक दलहरुलाई एक ढंगले एक पटक हेरिसकेका छन् । पछिल्लो समय जुन परिस्थिति देखा प¥यो । त्यसबाट आम जनतामा निराशा आएको छ । केपी ओली प्रधानमन्त्री हुँदा देशमा ठूलो संकट उत्पन्न भयो । उहाँले संविधानलाई नै मास्ने गरी काम गर्नुभयो । जनताबाट निर्वाचित संस्था प्रतिनिधिसभालाई विघटन गर्नुभयो । त्यसले संविधानप्रति ठूलो घात भएको नेपाली जनताले महशुस गरे ।

राजनीतिक दलहरुले पनि त्यहिँ अनुभूति गरेर पाँच दलीय गठबन्धनले आन्दोलन गर्नुप¥यो । आन्दोलनको स्वरुप नै संसद् पुर्नस्थापना भयो । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको संविधानलाई एकै चुट्कीमा फाल्ने केपी ओलीको हर्कत देखियो । यो हर्कतका बिरुद्धमा आम नेपाली जनता अघि बढ्नुपर्छ भन्ने आम नेपाली जनतालाई पनि परेको छ । अहिले मुख्य गरेर संविधान रक्षा, सरकारको स्थिरता र समाजको समृद्धि गरेर तीनओटा कारणले गठबन्धनलाई विजयी गराउन आवश्यक छ । यो कुरा आम जनसमुदायले बुझ्नुभएको छ ।

दाङकै कुरा गर्ने हो भने जिल्लाका दुई ओटा उपमहानगरपालिकामा गठबन्धनले पराजय भोग्नुप¥यो । गठबन्धनको व्यवहारीक कार्यान्वयन भएको जस्तो देखिएन । यस पटक स्थिति कस्तो छ ?


दाङमा १० ओटा पालिकाहरु रहेका छन् । ती मध्ये ८ ओटा पालिकामा गठबन्धनकै दलहरुले चुनाव जितेका छन् । दुई ओटा उपमहानगरपालिकामा पनि मत धेरै हुँदा हुँदै प्राविधिक कारणले गठबन्धनले जित निकाल्न सकेन । त्यति बेला घोराहीकै हकमा १० हजार मत बदर भएको छ । गठबन्धनका उम्मदेवारले पाँच हजार मतले जित्न सक्नुभएन ।

दाङ निर्वाचन क्षेत्र नं. २ का २७ ओटा वडाको गत स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई जोड्ने हो, भने गठबन्धन करीब ५ हजार मतले अघि छन् । अहिले विगतमा भन्दा गठबन्धनमा आबद्ध दलहरुको एकता झन् मजबुत भएको छ । यस पटक परिणाम गठबन्धनको पक्षमा आउने निश्चित छ । अहिले प्रतिनिधिसभाकी उम्मेदवार रेखा शर्माप्रति आम मतदाताको निकै आकर्षण बढेको छ । उहाँ निकै संघर्ष गरेर आएकी मेहनति र इमान्दार नेता हो । उहाँप्रति जनताको विश्वास निकै धेरै रहेको छ ।

तपाई समानुपातिक उम्मेदवार हुनुहुन्छ । अघिल्लो पटक माओवादीले समानुपातिक तर्फ कुल देशभर १७ ओटा सिट हासिल गरेको थियो । यस पटक कति सिट हासिल गर्ने देख्नुहुन्छ?
अहिले नै कुल कति सिट आउँछ भनेर अनुमान गर्न त सकिदैन । तर, यस पटक माओवादीको भोट २०७४ साल भन्दा बढी नै हुन्छ । किन की त्यति बेला हाम्रो पार्टीमा टुटफुट र विभाजन भइरहेको थियो । अहिले पार्टी एक ढिक्का भएको छ । पूर्वप्रधानमन्त्री वावुराम भट्टराई नेतृत्वको पार्टी हामिसँग छ ।

विप्वल सम्बद्ध पार्टीका धेरै नेता कार्यकर्ताहरु हाम्रो पार्टीमा समाहित हुनुभएको छ । एजेण्डाको हिसाबले माओवादीले नै देशको विकास र समृद्धि गर्छ भन्ने कुरा जनताले बुझेका छन् । त्यसैले यसपटक माओवादीको मत अघिल्लो पटकको भन्दा निकै धेरै बढ्ने भएकाले समानुपातिक सिट पनि धेरै बढ्छ ।

आम मतदाताले समानुपातिकमा माओवादीलाई नै भोट हाल्नुपर्ने कारण के ?
अहिलको व्यवस्था नै माओवादीकै अग्रसरतामा भएको हो । १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र त्यसपछि भएका आन्दोलनहरुमा माओवादीले खेलेको भूमिकाकै कारणले गर्दा देशमा यति ठूलो परिवर्तन सम्भव भएको हो । अब यो परिवर्तनलाई संस्थागत गर्दै देशलाई समृद्ध बनाउन आवश्यक छ । समृद्ध मुलुक निर्माण गर्ने अभियान माओवादीको नेतृत्वमा मात्र सम्भव रहेको छ ।

अर्को कुरा २०६४ सालमा सरकारमा गए देखि माओवादीले गरेका काम पनि हो । माओवादीकै नृेतृत्वमा नेपालमा हातहातमा मोवाइल र इन्टरनेट सम्भव भएको हो । त्यसैगरी १८ घण्टा सम्मको लोडसेडिङ पनि माओवादीकै नेतृत्वमा अन्त्य भएको हो । माओवादीका कुनै पनि मन्त्रीलाई अहिलेसम्म भ्रष्टाचारको आरोप लागको छैन । कार्यसम्पादनका हिसाबले पनि माओवादीका मन्त्रीहरु नै अघि देखा परेका छन् ।