लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा – रिजाल

लक्ष्मण बस्नेत

२८ पुस दाङ ।

     लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा बिमल रिजाल चयन हुनु भएको छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको बुधबार तुलसिपुरमा सम्पन्न प्रथम महाधिवेशनले सर्वसहमतिमा रिजाललाई अध्यक्षमा चयन गरेको हो । महाधिवेशनले रिजालकै नेतृत्वमा १६ सदस्यीय लुम्बिनी प्रदेश तेक्वान्दो संघको गठन समेत गरेको संघका महासचिव बिनिल केसिले जानकारी दिनु भएको छ ।


महासचिव केसिका अनुसार संघको उपाध्यक्ष द्वयमा जित बहादुर केसि,प्रयागदास गोर्खाली,महासचिव बिनिल केसि,कोषाध्यक्ष मोहन सुनार, सचिब राज कुमार पाण्डे हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र रिजाल,दुर्गा बहादुर खड्का, देब बहादुर केसि,सचिन पौडेल,वीर बहादुर रावत,डम्बर बहादुर बुढाथोकी,साबित्रा गुरुङ,श्याम घले,रामजी यादव र राजिव सिह क्षेत्री रहनु भएको छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश ग्रामीण,पर्यटन तथा शहरी बिकास मन्त्री माननीय डिल्ली बहादुर चौधरिले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै माननीय मन्त्री चौधरीले खेलकुदलाई मानव स्वास्थ्य र रास्ट्रको समृद्धि संग जोडेर लैजानु पर्ने बताउनु भएको छ । रास्ट्रको सान र गौरवलाई उच्च राख्दै स्वस्थ नागरिक उत्पादनमा सिङ्गो खेलकुद क्षेत्रले खेलको भुमिकाको चर्चा गर्दै मन्त्री चौधरिले खेल पर्यटनको बिकासका माध्यमबाट रास्ट्रलाई समृद्धि तर्फ उन्मुख गराउनु पर्ने बताउनु भयो ।

आफू पनि खेल जीवनमा हुर्केको पुर्व खेलाडी भएको स्मरण गर्नु भएका मन्त्री चौधरीले सिङ्गो खेलकुदको गरिमालाई उच्च राख्ने कार्यमा सदैव आफ्नो सहयोग रहने बताउनु भयो । साथै उहाँले दाङको तुलसिपुरमा तुलसिपुर उपहानगरपालिकाले उपलब्ध गराएको चार कठ्ठा जग्गामा निर्माण हुने भनिएको तेक्वान्दो कभर्डहलका लागि आफ्नो मन्त्रालय मार्फत पचास लाख रकम बिनियोजन गरेको समेत बताउनुभयो । नेपाल तेक्वान्दो संघका केन्द्रीय महासचिव दिप राज गुरुङले खेलकुद बिकासको मुल आधार हो भन्ने बुझाई लाई आत्मसात गर्दै संघको अस्तित्वलाई कसरी स्थायित्व प्रदान गर्न सकिन्छ भन्ने विषयमा गम्भीर हुन सबैमा आग्रह गर्नु भयो ।

संघका उपाध्यक्ष जित बहादुर केसिको स्वागत रहेको कार्यक्रममा भर्खरै बागमती प्रदेशको काठमाडौमा सम्पन्न मेयरकप रास्ट्रीय तेक्वान्दो प्रतियोगितामा सहभागी भई लुम्बिनी प्रदेशलाई दोस्रो स्थान दिलाउन सफल पदकधारी खेलाडी, टिम कोच बम बहादुर बिक, टिम ब्यबस्थापक राजेन्द्र बिक र सुपर स्टार तेक्वान्दो डोजाङ बाकेलाई सम्मान गरिएको थियो । कार्यक्रम लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश ग्रामीण,पर्यटन तथा शहरी बिकास मन्त्री माननीय डिल्ली बहादुर चौधरिको प्रमुख आतिथ्य एवं नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश संम्सेर राणा,उपाध्यक्ष दिल बहादुर ओलि र महासचिव दिप राज गुरुङको बिशिस्ट आतिथ्यमा भएको थियो ! कार्यक्रमको संचालन संघका महासचिव बिनिल केसिले गर्नु भएको थियो !