
तुलसीपुर ,१६ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ कालिकाटोल निवासी इन्द्रबहादुर खड्का यस अघि बैशाखीकै सहायताले आवतजावत गर्थे । उनीसंग कृत्रिम खुट्टा थिएन । दुई बर्ष अघि मधुमेहका कारणले क्यान्सर हुँदा खुट्टा नै काट्नु परेका उनलाई तुलसीपुर उपमहानगरपालिकाले कृत्रिम खुट्टा उपलब्ध गराएपछि खुसी भए । “ म पहिले बैशाखी टेकेर हिड्थेँ”,उनले भने “अहिले खुट्टा पाएको छु, निकै खुसी छु ।”
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मोतिपुर निवासी २१ बर्षीय प्रेम चौधरी पनि कृत्रिम खुट्टा पाउँदा खुसी भए । आफू दुई बर्ष हुँदा दुर्घटनाबाट खुट्टा गुमेका चौधरीले यस अघि पनि कृत्रिम खुट्टाकै सहायताले आवतजावत गर्थे । तर, त्यो पुरानो भइसकेको थियो । नयाँ किन्दा पनि गाह्रो हुने अबस्था थियो । तर, अहिले नयाँ कृत्रिम खुट्टा पाएपछि खुसी भएको बताए ।
तुलसीपुर २ बालापुर निवासी २१ बर्षीय मिना चौधरी पनि ह्वीलचियर पाउँदा उत्तिकै खुुसी थिए । बाल्यकालदेखि नै हिड्न नसक्ने उनलाई उपमहानगरपालिकाले नयाँ ह्वील चियर दिएपछि खुसी भएको बताए । “म बाल्यकालदेखि नै हिडडुल गर्न सक्ने थिएन, ह्वील चियर किन्दा–किन्दा आजित भइसकेका थियौं”,उनले भने “अहिले उपमहानगरपालिकाले दिएपछि खुसी भएका छौं ।”
उनीहरु जस्तै १७ जनालााई उपमहानगरपालिकाले सहायक सामग्री प्रदान गरेको छ । ७ लाख लागतमा २२ जनालाई कृत्रिम सामग्री ल्याएपनि उपमहानगरपालिका भित्रका १७ जना मात्रै उपस्थित भएकाले हाललाई उहाँहरुलाई मात्रै वितरण गरिएको हो । बाँकी ५ जनालाई उपमहानगरपालिकाको सम्पर्कमा आएपछि उपलब्ध गराउईने छ।
नेपालगन्ज मेडिकल कलेजसंग सम्झौता गरेर उक्त सामग्री हस्तान्तरण गरिएको हो । ति सामग्री उपलब्ध गराएसंगै अन्य प्राबिधिक समस्या पनि सोही कलेजले नै हल गर्ने कलेजका हितेस न्यौपानेले बताए । उनका अनुसार सुरुमा उपमहानगरपालिकासंग सम्झौता गरेर सोही अनुसार अपाङ्गता भएका ब्यक्तीहरुलको आबश्यकता पहिचान गरि सामग्री खरिद गरिएको हो ।“ह्वील चियर आबश्यक पर्नेलाई ह्वील चियर, कृत्रिम अंग आबश्यक पर्नेलाई कृत्रिम अंग ल्याईएको हो”,उनले भने “सोही अनुसार हामीले ल्याएर वितरण गरेका हौं ।” यो गएको आर्थिक बर्षको बजेटबाट सामग्री हस्तानतरण गरिएको हो ।
चालु बर्षमा पनि बाँकी रहेका अपाङ्गता भएका ब्यक्तीलाई सहायक सामग्री प्रदान गर्ने तयारी रहेको जनस्वास्थ्य प्रबद्र्धन महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए ।“धेरै अपाङ्गता भएका ब्यक्ती बाँकी रहनुभएको छ”,उनले भने “बाँकी रहेकालाई चालु आर्थिक बर्षको बजेटबाट समावेश गर्ने तयारी गरेका छौं ।”
अपाङ्गता भएका ब्यक्तीहरुको आबश्यकतालाई मध्येनजर गरि यसरी सहायक सामग्री वितरण गरिएको उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले बताए । उनका अनुसार मानव जीवनलाई सहज बनाउन आफूहरुले प्रयत्न गरिएको हो । संघीय शसत्र अनुदान अन्तर्गत गएको आर्थिक बर्षको बजेटबाट यसरी सहायक सामग्री प्रदान गरिएको हो ।



लाइभदाङ । १७ कार्तिक २०८२, आईतवार ०८:४७ बजे