८० बर्षीया आमा भन्छिन् : ‘छोरो पर्खिदा कपाल फुलिसक्यो’

दाङ, १७ भदौ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगर निवासी टीका डाँगीको आधा जीवन छोराको पर्खाईमै वित्यो । उनी अहिले ८० बर्ष भइन, तर अहिलेसम्म छोराको कुनै खबर छैन । २०५ साल पुसमा सम्पर्क विहीन भएका उनका छोरा ओविराम डाँगीको अहिलेसम्म पनि कुनै खबर नआएपनि आउने आशा भने मरेको छैन् ।

छोरा बुढेसकालको शाहारा होला भनेर आफूले इन्जिनियर पढाएको समेत डाँगीले बताइन् । तर, बुढेसकालमा झनै तड्पिएर बस्नु परेको समेत उनको गुनासो छ । छोरो हराएको २५ बर्षसम्म पनि कुनै अत्तोपत्तो लगाउन नसकेको भन्दै उनले राज्यसंग पनि असन्तुष्ट पोखिन ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनारकी निर्मला चौधरीको पनि पीडा यस्तै छ । उनको एक्लो छोरा विनोद चौधरी पनि २०६० कात्तिक ९ गते सम्पर्क विहीन भए । त्यसपछि उनी अहिलेसम्म पनि घरमा आएका छैनन् । “घरको एक्लो छोरो हो, घर आउँला– आउँला भन्दा भन्दै २५ बर्ष भइसक्यो”,उनले भनिन् “अझै पनि आउने आशा मरेको छैन ।”


उनीहरु त केही उदाहरण मात्रै हो । अझै पनि धेरै आमाहरुले यो पीडा भोग्नु परेको छ । लामो समयसम्म पनि वेपत्ता भएकाहरुका परिवारले न्याय पाउन नसकेको भन्दै झन पीडा माथि पीडा थपेको सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल लुम्बिनीका संयोजक समीता चौधरीले बताईन् । ‘कि साश चाहियो, कि लाश चाहियो’ भन्दै धेरै आवाज उठाउँदै आएपनि त्यसले सार्थकता पाउन नसकेको समेत उनको गुनासो छ ।“हामीले न्यायकालागि धेरै आवाज उठायौं”,उनले भनिन्“ तर, हाम्रा पीडा ज्यूका त्यू छ, हाम्रो सुनुवाई कतैबाट पनि भएको छैन ।” सरकारले अझै पनि कस्तो अबस्था छ, भन्ने कुरा पत्ता नलगाउँदा अझै पनि मल्हम लाग्न नसकेको उहाँको भनाई छ ।

पटक–पटक अन्तरक्रिया कार्यक्रम पनि हुने, अबस्था बुझ्न पनि आउने गरेको भएपनि बास्तविक अबस्था भने पत्ता लाग्न नसकेको भन्दै उनले दुखेसो पोखिन् । १६ औं अन्तराष्ट्रिय दिवसका अवसरमा शनिबार दाङको तुलसीपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सन्जालको आयोजनामा वेपत्ता पारिएका आफन्तीको सम्झनामा दिपप्रज्वलन समेत भएको छ ।