
रुकुम पूर्व, ८ कात्तिक । रुकुम पूर्वको भुमे गाउँपालिका–४ काँडाबगरस्थित मध्य पहाडी लोकमार्गमा अटो र मोटरसाइकल एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब साढे पाँच बजे खाबाङबगरबाट रुकुमकोटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश–०२–००१ ह १४९३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको कर्णाली प्रदेश–०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो।
घाइते हुनेहरूमा अटो चालक भुमे–२ खाबाङका ४५ वर्षीय सहिन पुन, ११ वर्षीय सुदीप पुन, २७ वर्षीया अस्मिता झाक्री बुढामगर, ४३ वर्षीया कर्म कुमारी पुन, ८ वर्षीय बचन बुढामगर, मोटरसाइकल चालक रुकुम पश्चिम आठबिसकोट–१० का १८ वर्षीय गणेश शाही र सल्याण बागचौर–६ का १९ वर्षीय बसन्त भण्डारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ। अटो चालक पुनको आँखानिर, कर्म कुमारी पुनको निधार र खुट्टामा चोट लागेको र अन्यको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको बताइएको छ। प्राथमिक उपचारपछि कर्म कुमारी पुनलाई थप उपचारका लागि कास्की पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी निरीक्षक लक्ष्मी गुरुङ र कर्ण बहादुर खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।



लाइभदाङ । ९ कार्तिक २०८२, शनिबार २०:४१ बजे